काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थाको आसपास र पश्चिमतर्फ सामान्यभन्दा उत्तरमा रहेकाले वर्षा गतिविधि बढ्ने देखिएको हो।
हाल देशभरको आकाश सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णालीका अधिकांश क्षेत्रमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती र कोशी प्रदेशका थोरै स्थानमा समेत वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। तराईका विभिन्न भू–भागमा पनि केही तथा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
रातिको समयमा पनि हिमाली र पहाडी क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
यसैबीच, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका विभिन्न भू–भागमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
