२०८३, आश्विन १ गते

Sep 17 2026

ईयूको सेफ्टी लिस्टबाट हट्न क्यान टुक्र्याउनैपर्ने : मन्त्री खडकराज पौडेल

ईयूको सेफ्टी लिस्टबाट हट्न क्यान टुक्र्याउनैपर्ने : मन्त्री खडकराज पौडेल

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को संरचनागत सुधार अपरिहार्य रहेको बताएका छन्।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले क्यानलाई नियामक र सेवा प्रदायकका रूपमा छुट्टाछुट्टै संरचनामा लैजानुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

    उनका अनुसार क्यान विभाजनसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको छ। यसका लागि सम्बन्धित विधेयकको मस्यौदा तयार भइसकेको र आगामी दिनमा संसद्मा पेश गरिने तयारी रहेको उनले जानकारी दिए।

    नेपाललाई ईयूको सेफ्टी लिस्टबाट बाहिर निकाल्ने विषयमा सरकारले विभिन्न पक्षलाई समानान्तर रूपमा अघि बढाइरहेको मन्त्री पौडेलको भनाइ थियो। उनले नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधारसँगै कूटनीतिक पहललाई समेत प्राथमिकताका साथ अघि बढाइएको बताए।

    मन्त्री पौडेलले ईयूको टोली नेपाल आएर नेपालको नागरिक उड्डयन क्षेत्रको स्थलगत मूल्याङ्कन गर्ने तयारीमा रहेको पनि सदनलाई जानकारी गराए। उनका अनुसार गर्मी बिदा सकिएपछि ईयूको टोली नेपाल आउनेछ।

    सरकारले आवश्यक सुधारका कामलाई तीव्रता दिँदै अन्तर्राष्ट्रिय हवाई सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्ने दिशामा काम गरिरहेको उनले बताए। क्यानको पुनर्संरचनासहितका कदमले नेपालको हवाई क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास बढाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij