काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसममा सक्रियता देखिएको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
भारी वर्षा तथा हावाहुरीका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसको प्रभाव दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
