२०८३, कार्तिक २० गते

Nov 05 2026

कांग्रेस अनुशासन समितिको बैठक बस्दै, देउवा पक्षको भेलापछि कारबाहीको चर्चा

कांग्रेस अनुशासन समितिको बैठक बस्दै, देउवा पक्षको भेलापछि कारबाहीको चर्चा

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दैछ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला बस्न लागेको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

    कांग्रेस केन्द्रीय कार्यालय बीपी भवन, सानेपामा बिहान ११ बजे बैठक बोलाइएको हो। बैठकमा सहभागी हुन समितिका सदस्यहरूलाई आवश्यक जानकारी गराइसकिएको समितिका सचिव दिनेश थापामगरले बताएका छन्।

    पार्टीभित्र नेतृत्व र संगठन सञ्चालनको विषयलाई लिएर मतभेद बढिरहेका बेला अनुशासन समितिको बैठक बस्न लागेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गत साउन २९ देखि ३१ गतेसम्म छुट्टै राष्ट्रिय भेला आयोजना गरेको थियो।

    त्यसअघि देउवा नेतृत्वको तत्कालीन केन्द्रीय समितिले १५औँ महाधिवेशन गर्ने विषय सार्वजनिक गरेको थियो। पार्टीको वर्तमान नेतृत्व र देउवा पक्षबीच देखिएको मतभेदको पृष्ठभूमिमा अनुशासन समितिको बैठक बोलाइएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    बैठकमा पार्टीको अनुशासन उल्लंघनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी देउवा पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेला र त्यससँग जोडिएका गतिविधिबारे समितिले धारणा बनाउने तथा आवश्यक निर्णय लिन सक्ने अनुमान गरिएको छ।

    यद्यपि, बैठकले कसलाई कारबाही गर्ने वा कस्तो निर्णय लिने भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक भएको छैन। समितिको निर्णयपछि मात्रै यसबारे स्पष्ट हुने कांग्रेस नेताहरू बताउँछन्।

    पार्टीभित्र महाधिवेशन, नेतृत्व र संगठनात्मक गतिविधिलाई लिएर दुई धारबीच मतभेद बढिरहेका बेला अनुशासन समितिको निर्णयले कांग्रेसको आन्तरिक राजनीतिमा थप प्रभाव पार्न सक्ने देखिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij