काठमाडौं । भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल पर बंगालको खाडीमा मालवाहक जहाज डुब्दा २२ जना बेपत्ता भएका छन् ।
पनामाको झण्डा बोकेको ‘एमभी ओसन विनर’ नामक जहाजमा चालक दलका २४ सदस्य सवार थिए । जहाज डुबेपछि दुई जनाको उद्धार गरिएको छ भने अन्य २२ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पीटीआईका अनुसार जहाजमा चीनका २०, म्यानमारका ३ र बंगलादेशका १ जना नागरिक थिए । जहाज ओडिशाबाट फलामको अयस्क बोकेर सिंगापुरतर्फ जाँदै थियो । शुक्रबार ओडिशाको तटबाट प्रस्थान गरेको जहाज शनिबार समुद्रमा डुबेको हो ।
जहाज डुब्नुको कारणबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । उद्धार टोलीले बेपत्ता चालक दलका सदस्यहरूको खोजी गरिरहेको जनाइएको छ