काठमाडौं । संघीय संसद्का पाँचवटा संसदीय समितिले आज विभिन्न समसामयिक तथा विधायनसँग सम्बन्धित विषयमा छलफल गर्दैछन्। कृषि, पूर्वाधार, पर्यटन, पशु स्वास्थ्यदेखि खर्क नीतिसम्मका विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।
संसद् सचिवालयका अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजेबाट सुरु हुनेछ। उक्त बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीसँग सम्बन्धित विषयमा छलफल हुनेछ। यसका लागि लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिलाई बोलाइएको छ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा नेपाल पर्वतारोहण संघलगायत सम्बन्धित क्षेत्रका सरोकारवालासँग राय तथा सुझाव लिइनेछ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। समितिले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्नेछ। छलफलमा सहभागी हुन कृषि मन्त्रीसहित सम्बन्धित मन्त्रालयका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकमा खर्क नीतिका विषयमा विज्ञ धनप्रसाद लामिछानेसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसरी आजका पाँचवटै समितिका बैठकमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित नीति, विधेयक, प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने भएको छ।