२०८३, आश्विन २ गते

Sep 18 2026

देउवासँग भेटका लागि गगनको आग्रह, समय मिलेन

देउवासँग भेटका लागि गगनको आग्रह, समय मिलेन

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधानका लागि सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासँग संवाद गर्ने प्रयास अघि बढाएका छन्। तर, भेटका लागि पहल गरिएको लामो समय बितिसक्दा पनि देउवातर्फबाट हालसम्म निश्चित समय प्राप्त हुन सकेको छैन।

    पार्टीभित्र बढिरहेको असहमति र नेतृत्वसँग जोडिएका विषयमा छलफल गर्ने उद्देश्यले थापाले देउवाका स्वकीय सचिव भानु देउवासँग सम्पर्क गरी भेटको वातावरण मिलाइदिन आग्रह गरेका थिए। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाको आग्रहपछि पनि भेटको समयबारे देउवातर्फबाट कुनै जानकारी आएको छैन।

    पौडेलले पार्टी सभापति थापा आफैंले संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले भेटको पहल गरेको बताए। उनका अनुसार पार्टीभित्रको असहमतिलाई संवादबाटै टुंग्याउने प्रयासस्वरूप देउवासँग भेट गर्न खोजिएको हो।

    हङकङबाट नेपाल फर्किएको करिब दुई साता बितिसक्दा पनि थापा र देउवाबीच प्रत्यक्ष भेट हुन सकेको छैन। देउवा हाल चुनदेवीस्थित निवासबाट राजनीतिक भेटघाट तथा गतिविधि सञ्चालन गरिरहेका छन्। देउवानिकट नेताहरू भने नियमित रूपमा उनीसँग भेट गर्दै आएका छन्।

    कांग्रेसभित्रको विवाद समाधानका लागि शीर्ष नेताबीच प्रत्यक्ष संवाद आवश्यक रहेको नेताहरूले बताउँदै आएका छन्। यसअघि पार्टी बैठकबाटै देउवाको स्वास्थ्यलाभको कामना गरिएको पौडेलले जानकारी दिएका छन्।

    यता, देउवा पक्ष भने पार्टीको विशेष महाधिवेशन तथा त्यसबाट उत्पन्न नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा रहेको बताइएको छ। अदालतमा विषय विचाराधीन रहेकाले तत्काल राजनीतिक रूपमा कुनै निष्कर्षमा पुग्नुअघि कानुनी प्रक्रियाको परिणाम पर्खनुपर्ने देउवानिकट नेताहरूको धारणा छ।

    सभापति थापाले अघि सारेको महाधिवेशनसम्बन्धी कार्यतालिकालाई लिएर पनि कांग्रेसभित्र दुई पक्षबीच मतभेद कायम छ। उक्त कार्यतालिका रोक्न देउवा पक्षले सर्वोच्च अदालतमा कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ।

    पार्टीभित्रको दूरी घटाउन थापाले संवादको बाटो रोजे पनि देउवासँग भेटको समय निश्चित हुन नसक्दा तत्कालै विवाद समाधान हुने अवस्था अझै स्पष्ट देखिएको छैन। अदालतको निर्णय र त्यसपछिको राजनीतिक परिस्थितिले कांग्रेसभित्रको शक्ति सन्तुलन तथा आगामी संवादको दिशासमेत निर्धारण गर्ने देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij