काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी भदौ १४ गते सर्बिया जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने स्मरणसभामा सहभागी हुनेछन्। कार्यक्रम भदौ १५ र १६ गते आयोजना हुँदैछ।
सन् १९६१ मा बेलग्रेडमै नामको पहिलो शिखर सम्मेलन सम्पन्न भएको थियो। आन्दोलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष सोही शहरमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
स्मरणसभामा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र नाम सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपालले आफ्नो परराष्ट्र सम्बन्ध सञ्चालनमा असंलग्नताको सिद्धान्तलाई महत्वपूर्ण आधारका रूपमा आत्मसात गर्दै आएको छ। नेपालको संविधानले समेत असंलग्नता र स्वतन्त्र परराष्ट्र नीतिलाई राज्यको प्रमुख नीतिगत आधारका रूपमा समेटेको छ।
असंलग्न आन्दोलनसँग नेपालको लामो समयदेखि निरन्तर सहभागिता रहँदै आएको छ। वाङडुङ सम्मेलनदेखि नामका शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा विभिन्न तहका बैठकमा नेपालले नियमित रूपमा प्रतिनिधित्व गर्दै आएको मन्त्रालयले जनाएको छ।
स्मरणसभामा नेपालको सहभागितामार्फत असंलग्न आन्दोलनप्रतिको नेपालको निरन्तर प्रतिबद्धता र स्वतन्त्र परराष्ट्र नीतिप्रतिको धारणा प्रस्तुत हुने बताइएको छ।
परराष्ट्रमन्त्री खनाल भदौ १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।