२०८३, आश्विन १ गते

Sep 17 2026

दलको निर्देशन उल्लंघन गरेको आरोपमा सांसद काफ्लेलाई हटाउन सिफारिस

दलको निर्देशन उल्लंघन गरेको आरोपमा सांसद काफ्लेलाई हटाउन सिफारिस

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • बुटवल । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दलबाट निष्कासन गर्दै प्रदेशसभा सदस्य पदबाट हटाउने प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

    जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै काफ्लेमाथि कारबाही गर्न आग्रह गरेका हुन्। संसदीय दलले सोही दिन प्रदेशसभा सचिवालयलाई पनि पत्राचार गर्दै उनलाई प्रदेशसभा सदस्यबाट हटाउने प्रक्रिया अघि बढाउन अनुरोध गरेको जनाएको छ।

    कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भदौ १ गते प्रदेशसभामा मुख्यमन्त्रीले लिएको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो।

    तर, काफ्ले पार्टीको निर्देशनअनुसार विश्वासको मतसम्बन्धी बैठकमा सहभागी नभएको संसदीय दलको आरोप छ। यसलाई दलको निर्देशनको उल्लंघन भन्दै भदौ २ गते काफ्लेसँग स्पष्टीकरण मागिएको थियो। निर्धारित समयमा जवाफ नआएपछि भदौ ५ गते पुनः २४ घण्टे स्पष्टीकरणको अवसर दिइएको र त्यसबाट पनि सन्तोषजनक जवाफ प्राप्त नभएको संसदीय दलले जनाएको छ।

    दलको निर्देशन पालना नगरेर संसदीय दलको निर्णयको अवज्ञा गरेको निष्कर्ष निकाल्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) अनुसार कारबाही गर्न सिफारिस गरिएको हो।

    संसदीय दलले काफ्लेलाई दलबाट निष्कासन तथा प्रदेशसभा सदस्य पदबाट हटाउने विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिएको जनाएको छ। केन्द्रबाट अन्तिम निर्णय नआएसम्म काफ्लेलाई प्रदेशसभा सदस्यका रूपमा कायम नराख्न प्रदेशसभा सचिवालयसँग समेत आग्रह गरिएको छ।

    लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सांसद छन्। काफ्ले सोही दलबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

    janata.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij