२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवा बाढीपछि सुरक्षाकर्मी र स्वास्थ्य टोली परिचालन,प्रधानमन्त्री बालेनले दिए ६ निर्देशन

रसुवा बाढीपछि सुरक्षाकर्मी र स्वास्थ्य टोली परिचालन,प्रधानमन्त्री बालेनले दिए ६ निर्देशन

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित क्षति न्यूनीकरण तथा उद्धार–राहत कार्यलाई तीव्र बनाउन सरकारले सुरक्षा संयन्त्रदेखि स्वास्थ्य टोलीसम्म परिचालन गरेको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटाइएको जानकारी दिएका छन्। आवश्यक जनशक्ति थप गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताएका छन्।

    बाढी प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवाका लागि थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने तयारी भइरहेको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट तथा रेडक्रससँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन दिइएको र स्थानीयलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको जनाइएको छ।

    उद्धारका क्रममा हवाई माध्यमबाट समेत तत्काल सेवा उपलब्ध गराउन सकिने गरी सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर सञ्चालकलाई पनि आवश्यक परेको अवस्थामा प्रयोग गर्न मिल्ने गरी हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको प्रधानमन्त्री शाहले बताएका छन्।

    बाढीबाट उत्पन्न परिस्थितिमा थप रणनीति तय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको छ। बैठकबाट प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गरी आगामी उद्धार, राहत तथा सुरक्षा कदमबारे निर्णय गरिने बताइएको छ।

    प्रधानमन्त्री शाहले सम्भावित जोखिमबाट जोगिन सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। आफन्तसँग तत्काल सम्पर्क हुन नसकेको अवस्थामा आधिकारिक सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी सूचनालाई आधार मान्नसमेत उनले आग्रह गरेका छन्।

    थप जानकारी तथा राहतसम्बन्धी आवश्यक सूचनाका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

    IMG_20260826_120616.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij