काठमाडौँ । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएको भन्दै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले सरकारलाई तत्काल उद्धार, उपचार र राहतका काम तीव्र बनाउन आग्रह गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले बाढीका कारण बस्ती तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको बताए। उनका अनुसार पक्की पुल, जलविद्युत् आयोजना र अन्य संरचनासमेत बाढीको चपेटामा परेका छन्।
बाढीबाट मानवीय क्षति समेत ठूलो भएको उल्लेख गर्दै उनले यस विपद्लाई राष्ट्रिय विपद्का रूपमा लिएर राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै घाइतेको उपचार र पीडितलाई आवश्यक राहत तत्काल उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र बसुमाया तामाङले पनि बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा ढिलाइ नगर्न सरकारसँग माग गरे। उनीहरूले जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न र प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य मानवीय सहायता पुर्याउनुपर्नेमा जोड दिए।
यसैबीच सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रभावित क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
सरकारको उक्त निर्णयसँगै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने बाटो खुलेको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावितको अवस्थाबारे थप विवरण आउने क्रम जारी छ।
