२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवा बाढी : रगत अभाव हुन नदिन रेडक्रस तयारी अवस्थामा

रसुवा बाढी : रगत अभाव हुन नदिन रेडक्रस तयारी अवस्थामा

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवामा बाढीपछि घाइतेको उपचारमा आवश्यक पर्न सक्ने रगत तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटीले आफ्नो संयन्त्र सक्रिय बनाएको छ।

    सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रेडक्रसले अस्पताल, स्वास्थ्य संस्था र देशभरका रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ। बाढीका कारण एकैपटक ठूलो संख्यामा घाइतेको उपचार गर्नुपर्ने अवस्था आएमा तत्काल रगत उपलब्ध गराउन तयारी गरिएको हो।

    नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताका अनुसार काठमाडौंस्थित केन्द्रमा हाल करिब १ हजार युनिट रगत मौज्दात छ। अन्य जिल्लाका रक्तसञ्चार केन्द्रमा समेत आवश्यकता धान्न सक्ने गरी रगत उपलब्ध रहेको उनले बताए।

    रसुवा बाढीका घाइतेको उपचारमा रगत आवश्यक पर्न सक्ने भएकाले आकस्मिक तथा ट्रमा उपचार गर्ने अस्पतालसँग रेडक्रसले निरन्तर सम्पर्क गरिरहेको गुप्ताले जानकारी दिए। उनका अनुसार धादिङ र चितवनलगायतका जिल्लामा पनि पर्याप्त रगत मौज्दात रहेको छ।

    विपद्का कारण कुनै जिल्लामा अचानक रगतको माग बढेमा अन्य जिल्लाबाट समेत रगत व्यवस्थापन गरेर आपूर्ति गर्ने योजना रेडक्रसको छ। सम्बन्धित रक्तसञ्चार केन्द्रमा उपलब्ध मौज्दातको अवस्था र अस्पतालबाट आउने मागलाई नियमित रूपमा निगरानीमा राखिएको जनाइएको छ।

    गुप्ताका अनुसार हाल रगतको मौज्दातमा तत्काल समस्या छैन। तर विपद्को अवस्था लम्बिन सक्ने र घाइतेको संख्या बढ्न सक्ने भएकाले दीर्घकालीन आवश्यकतालाई समेत ध्यानमा राखेर तयारी गरिएको छ।

    यसका लागि स्वयंसेवी रक्तदाता समाज नेपाल, ब्लड डोनर्स एसोसिएसन नेपाल, विभिन्न संघसंस्था तथा नियमित रक्तदातासँग समन्वय भइरहेको रेडक्रसले जनाएको छ।

    रेडक्रसले विपद्का बेला रगतको माग जुनसुकै समयमा बढ्न सक्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिनसमेत रक्तदातालाई आग्रह गरेको छ। आवश्यक परेको अवस्थामा तत्काल रगत उपलब्ध गराउन सक्ने गरी देशभरको रक्तसञ्चार प्रणालीलाई समन्वयमा राखिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij