काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न मुलुकका ६४४ जना पर्यटक सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा बढी छ । भारतका १७८ जना पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
त्यसैगरी, १२७ नेपाली पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डको विवरणमा उल्लेख छ । अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अष्ट्रेलियाका ३५ जना पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ ।
बोर्डका अनुसार बेलायतका ३३ तथा क्यानडाका २५ जना पर्यटक पनि सम्पर्कमा छैनन् । त्यस्तै, सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटकको अवस्था पनि यकिन हुन बाँकी छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको विवरण थप अद्यावधिक हुन सक्ने बोर्डले जनाएको छ । ट्राभल एजेन्सी र पर्यटनसम्बन्धी कम्पनीसँग समन्वय गरी पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको बताइएको छ ।