काठमाडौँ । बाढीपहिरोबाट प्रभावित विभिन्न जिल्लामा नेपाली सेनाले खोजी, उद्धार तथा राहतलाई थप तीव्र बनाएको छ। हवाई तथा स्थलमार्गबाट परिचालित सेनाको टोलीले बेपत्ता तथा जोखिममा परेकाको खोजी गर्नुका साथै अवरुद्ध सडक खुलाउने र घाइतेको उद्धारमा काम गरिरहेको छ।
सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई माध्यमबाट मात्रै २३ जनाको उद्धार गरिएको छ। बाढीपछि विभिन्न जलविद्युत् आयोजनाको क्षेत्रमा फसेका नागरिकको उद्धारलाई समेत प्राथमिकतामा राखिएको छ।
विशेषगरी जलविद्युत् आयोजनाका टनेलमा फसेकाहरूको अवस्था पत्ता लगाउन विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे जलविद्युत् आयोजनाको टनेलमा टोलीले प्रवेश गरी करिब ५० मिटरसम्म खोजी गरेको छ।
त्यस्तै, लाङटाङ हाइड्रोको टनेलमा करिब १५० मिटर र अपर त्रिशूली–१ को टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
त्रिशूली–३ ए आयोजनाको टनेल हेड पत्ता लागेपछि भित्र हावा प्रवाह गराउन कम्प्रेसर सञ्चालनमा ल्याइएको छ। टनेलमा जमेको पानी निकाल्ने कार्यसँगै वैकल्पिक बाटो बनाउन तीनवटा एक्साभेटर प्रयोग भइरहेको छ। हालसम्म करिब १५ मिटर वैकल्पिक मार्ग खोलिएको र टनेलमा प्रवेश गर्ने स्थान तयार पार्न रक ब्रेकरमार्फत ढुंगा हटाउने काम जारी छ।
त्रिशूली–३ बी आयोजनामा पनि विज्ञसहितको सेनाको टोलीले टनेलको प्रवेशद्वार पहिचान गरी एक्साभेटरको सहायताले खन्ने काम अघि बढाएको छ।
सेनाका अनुसार बाढी आएयता विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनाको सकुशल उद्धार भइसकेको छ। उद्धार गरिएकामध्ये रसुवागढीबाट २, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ए बाट २२१, माथिल्लो त्रिशूली–३ बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना छन्।