२०८३, आश्विन २ गते

Sep 18 2026

परदेशमा पसिना, आफ्नै देशका पीडितका लागि जीवन बडालको सहयोग

परदेशमा पसिना, आफ्नै देशका पीडितका लागि जीवन बडालको सहयोग

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले जनधनमा क्षति पुर्‍याएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पीडितको सहयोगमा जुट्न थालेका छन्। यही मानवीय भावनालाई आत्मसात् गर्दै हाल दुबईमा रहेका जीवन बडालले पनि विपद्पीडितका लागि १५ हजार रुपैयाँ सहयोग गरेका छन्।

    दुबईमा रोजगारी गर्दै आएका बडालले आफ्नो मेहनतको कमाइबाट केही रकम छुट्याएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्। उनले पठाएको रकमसम्बन्धी रसिदमा उक्त रकम विपद् राहतका लागि जम्मा गरिएको उल्लेख छ।

    रकमका हिसाबले यो सहयोग ठूलो नदेखिए पनि विपद्को समयमा पीडितप्रति देखाइएको मानवीय संवेदना र जिम्मेवारीको भावना भने निकै महत्वपूर्ण छ। विदेशमा रहेर आफ्नै परिवार र दैनिक जीवनका आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका नेपालीले समेत आफ्नो कमाइको केही हिस्सा दुःखमा परेका नागरिकका लागि छुट्याउनु प्रेरणादायी उदाहरण हो।

    भोटेकोशीको बाढीपहिरोले धेरै परिवारलाई दुःख र पीडामा पारेको अवस्थामा देश–विदेशबाट प्राप्त हुने यस्ता साना–ठूला सहयोगले पीडित परिवारलाई राहत मात्र होइन, ‘दुःखमा हामी एक्ला छैनौँ’ भन्ने भरोसा पनि दिलाउने गरेको छ।

    जीवन बडालको यो सहयोगले विदेशमा रहेका नेपालीको मनमा पनि आफ्नो माटो र दुःखमा परेका नागरिकप्रतिको माया कति गहिरो छ भन्ने देखाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij