काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। अनुगमनका क्रममा उनले विपद् प्रभावित नागरिकको सुरक्षा र संरक्षणसँगै दीर्घकालीन पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताइन्।
मन्त्री बादीले विदुर–४ मा रहेको युनाइटेड आधारभूत विद्यालय र तल्लो पिपलटारस्थित होल्डिङ सेन्टर पुगेर प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिइन्। उनले त्यहाँ बसिरहेका नागरिकसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूलाई आवश्यक परेको आवास, स्वास्थ्य उपचार, खाद्यान्न तथा अन्य आधारभूत सेवाका विषयमा जानकारी लिएकी थिइन्।
उनले विपद्का बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई थप जोखिम हुनसक्ने भन्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिन्। महिलाका लागि आवश्यकताअनुसार छुट्टै सुरक्षित होल्डिङ सेन्टरको व्यवस्था, महिला प्रहरीको परिचालन र सुरक्षित स्थानान्तरणलाई प्रभावकारी बनाउन समन्वय गरिएको बताइएको छ।
बाढी तथा विपद्का कारण अभिभावकबाट अलग भएका बालबालिकाको अवस्था पहिचान गरी सुरक्षित संरक्षणमा राख्नुपर्नेमा पनि मन्त्री बादीले जोड दिइन्। त्यस्ता बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने, आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउने र उनीहरूको आवश्यकताअनुसार सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
बालबालिकालाई असुरक्षित अवस्थामा वयस्कसँगै राख्दा थप जोखिम हुनसक्ने भएकाले उनीहरूको उमेर, अवस्था र संरक्षणको आवश्यकतालाई ध्यान दिएर छुट्टै सुरक्षित व्यवस्थापन गर्नुपर्ने उनले बताइन्।
अनुगमनकै क्रममा मन्त्री बादीले कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको पनि निरीक्षण गरिन्। ती स्थानमा सुरक्षा, स्वास्थ्य सेवा तथा सेवा प्रवाहको अवस्थाबारे उनले सम्बन्धित अधिकारीसँग जानकारी लिइन्।
मन्त्री बादीले विपद्मा परेका नागरिकलाई तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था गर्नुका साथै भविष्यमा पुनः जोखिममा नपर्ने गरी सुरक्षित स्थानमा दीर्घकालीन पुनर्स्थापनाको योजना सरकारले अघि बढाइरहेको बताइन्।