२०८३, आश्विन २ गते

Sep 18 2026

बाजुरामा भारी वर्षाको वितण्डा : पहिरोले सडक अवरुद्ध, दर्जनौँ परिवार विस्थापित

बाजुरामा भारी वर्षाको वितण्डा : पहिरोले सडक अवरुद्ध, दर्जनौँ परिवार विस्थापित

रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
  • बाजुरा । शनिबार रातिदेखि परेको लगातारको वर्षाले बाजुरामा जनजीवन प्रभावित भएको छ। वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढी आउँदा सडक, घर तथा कृषि क्षेत्रमा क्षति पुगेको छ।

    लगातारको वर्षापछि पहिरो खस्दा सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। सडकको कारागार क्षेत्र, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा माथिबाट पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या भएको हो।

    बडीमालिका नगरपालिकाका राप्का र जडाङ्गा क्षेत्रमा समेत पहिरो खसेको स्थानीयले बताएका छन्। सडक अवरुद्ध भएपछि उक्त मार्गमा सवारीसाधनको आवागमन रोकिएको छ।

    वर्षाका कारण बडीमालिका नगरपालिकाका विभिन्न क्षेत्रमा घर तथा गोठमा समेत क्षति पुगेको छ। पहिरोले मीनबहादुर थापाको भैँसी गोठ पुरेको छ। बडीमालिका–८ गडखेतमा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको वडा नम्बर ९ का अध्यक्ष सूर्यकिरण विकले जानकारी दिएका छन्।

    यसैगरी, वीरेखोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन्। रातभरको वर्षापछि आएको बाढीबाट २२ भन्दा बढी परिवार घर छाड्न बाध्य भएका छन्। मानवीय क्षति नभए पनि बाढीका कारण उनीहरूको बसोबास प्रभावित भएको हो।

    बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार वीरेखोलामा मात्रै ४१ परिवार बाढीबाट प्रभावित भएका छन्। बाढीले खेतबारीमा लगाइएको धानबालीमा समेत क्षति पुर्‍याएको छ।

    भारी वर्षाको असर सदरमुकाम मार्तडी बजारमा पनि देखिएको छ। बजारका विभिन्न स्थानमा ढल तथा नालीमा पानी भरिएपछि सडकमा क्षति पुगेको छ। वर्षाकै कारण जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

    शनिबार राति परेको वर्षाबाट जिल्लाभर भएको क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij