काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधानमन्त्री बालेन्द्र शाहले प्रशंसा गरेका छन्।
प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र उच्च जोखिमबीच तीनवटै सुरक्षा निकायका जनशक्ति निरन्तर उद्धार तथा खोजीमा जुटिरहेको भन्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, धैर्य र समर्पणप्रति सरकार आभारी रहेको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार सुरक्षा निकायको संयुक्त प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। स्थलमार्गबाट मात्रै नभई हेलिकप्टर तथा आवश्यकताअनुसार सुरक्षाकर्मीले प्रभावितलाई बोकेरसमेत उद्धार गरेका छन्।
शाहले सामाजिक सञ्जालमार्फत विपद्का बेला सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाबारे जानकारी दिँदै नुवाकोटको विदुर–६ स्थित केन्द्रीय कारागारको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
बाढीको पानी र लेदो कारागारको पहिलो तलासम्म प्रवेश गरेपछि त्यहाँ रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारिएको उनले बताएका छन्। कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले जोखिम मोलेर सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा पुर्याएका थिए।
यस क्रममा बाढीको मौका छोपेर कारागारको पर्खाल तथा गेट तोड्दै करिब १०० मिटर टाढासम्म पुगेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। घटनामा केही सुरक्षाकर्मी घाइते भएका थिए।
बाढीका कारण कारागारको ब्यारेक र कार्यालयसमेत लेदोले पुरिएको, खानेपानी तथा आवागमन प्रभावित भएको अवस्थामा पनि सुरक्षाकर्मीहरू नियमित जिम्मेवारीमा खटिइरहेको शाहले बताएका छन्।
सेनाका ९ हजारभन्दा बढी जनशक्ति परिचालन
प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना नेपाली सेना परिचालन भएका छन्। सेनाले नुवाकोटको त्रिशूली–बट्टारस्थित मैथिली ब्यारेकबाट उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, आकस्मिक मेडिकल रेस्क्यु टिम तथा मुख्य ‘फरवार्ड एयर बेस’ सञ्चालन गरिरहेको छ।
रसुवाको धुन्चेमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’ स्थापना गरी चिकित्सकसहितको फरवार्ड मेडिकल टिम पनि परिचालन गरिएको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धारमा सेनाले नेतृत्व गरिरहेको छ। यस अभियानमा सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको तालिमप्राप्त कुकुर टोलीसमेत परिचालन गरिएको छ।
बाढीका कारण अवरुद्ध सडक तथा आवागमन पुनः सञ्चालन गर्न सेनाले सडक खुलाउने र बेलीब्रिज निर्माणलाई पनि प्राथमिकता दिएको छ। नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियरहरूले ‘एक्रो ब्रिज’ जडानको काम गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
नेपाल प्रहरीका करिब ८ हजार जनशक्ति परिचालन
बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ जना नेपाल प्रहरी खटाइएको छ। प्रहरी टोलीले बाढी आएदेखि नै खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ।
बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ भने घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याउने काम पनि भइरहेको छ।
त्यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने तथा जोखिममा रहेका नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउने जिम्मेवारीसमेत प्रहरीले सम्हालिरहेको छ।
सशस्त्र प्रहरीका ४ हजारभन्दा बढी सुरक्षाकर्मी खटिए
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी परिचालन भएका छन्। तीव्र बहाव र कठिन भूगोलमा काम गर्न विशेष तालिमप्राप्त जनशक्तिलाई प्रयोग गरिएको छ।
सशस्त्र प्रहरीले गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोलीमार्फत खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको छ। स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि जारी रहेको जनाइएको छ।
आफ्नै सहकर्मी सम्पर्कविहीन, उद्धारमा भने निरन्तर
प्रधानमन्त्री शाहले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मी स्वयं पनि ठूलो पीडाबाट गुज्रिरहेको बताएका छन्।
उनका अनुसार भोटेकोशी बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। आफ्नै सहकर्मी तथा साथीहरू सम्पर्कविहीन रहे पनि बाँकी सुरक्षाकर्मीले खोज तथा उद्धारको जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन्।
जोखिम अझै कायम रहेकाले प्रभावित क्षेत्रमा माइकिङमार्फत नागरिकलाई सचेत गराउने, जोखिमयुक्त स्थानमा खोजी गर्ने तथा आवश्यक उद्धार कार्य सञ्चालन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीले पुर्याएको योगदानको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन्। साथै, कठिन परिस्थितिमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई साथ दिइरहेका उनीहरूका परिवारप्रति पनि उनले आभार व्यक्त गरेका छन्।
सरकारले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। भोटेकोशी बाढीपछि उद्धार, खोजी, शव व्यवस्थापन, स्वास्थ्य सेवा, सुरक्षा तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनामा तीनवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा परिचालित छन्।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सहयोग गरिरहेका स्वदेशी तथा विदेशी विज्ञहरूप्रति समेत धन्यवाद व्यक्त गरेका छन्।