इनरुवा । पूर्वी पहाडी क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीले जनाएको छ।
बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २७ वटा ढोका खोलिएका छन्। ब्यारेजमा ५२ वटा मुख्य ढोका र चारवटा नहरका ढोका रहेका छन्।
नदीमा पानीको मात्रा बढ्दै गएपछि सम्भावित जोखिमलाई संकेत गर्न ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको प्रहरीले जनाएको छ।
सप्तकोसीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले नदी आसपासका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन भनिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोसीको जलस्तर र पानीको बहावबारे नियमित रूपमा निगरानी भइरहेको छ। प्रहरीले सम्भावित जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जानसमेत स्थानीयलाई आग्रह गरेको छ।
