काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । महासभामा नेपालको तर्फबाट सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहको भ्रमण लामो समयका लागि नभई महासभामा नेपालको प्रतिनिधित्व र सम्बोधनमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् ।
नेपालजस्ता हिमाली तथा जोखिमयुक्त मुलुकमा जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपत्तिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्री शाहको तयारी छ । बाढी, पहिरो लगायतका घटनाले सिर्जना गर्ने मानवीय तथा आर्थिक क्षतिबारे नेपालले अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको आवश्यकता औंल्याउने अपेक्षा गरिएको छ ।
यसअघि महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तयारी थियो । तर भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिपछि प्रधानमन्त्री शाह आफैं नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जनासम्म सदस्य रहने तयारी छ । छोटो अवधिको भ्रमण भए पनि महासभालाई नेपालको जलवायु जोखिम र त्यसबाट सिर्जित चुनौती अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।