२०८३, आश्विन १ गते

Sep 17 2026

चीनमा अलपत्र नेपालीको स्वदेश फिर्ती जारी, तातोपानीबाट ५३६ जना फर्किए

चीनमा अलपत्र नेपालीको स्वदेश फिर्ती जारी, तातोपानीबाट ५३६ जना फर्किए

रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकहरू स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार तातोपानी नाकाबाट हालसम्म ५३६ नेपाली नेपाल फर्किसकेका छन् ।

    मन्त्रालयले दिएको जानकारीअनुसार थप १०६ जना नेपाली आज नेपाल फर्कने क्रममा छन् । बाढीबाट प्रभावित भएर नेपाल आउन चाहने नागरिकलाई सुरक्षित रूपमा स्वदेश ल्याउन चिनियाँ अधिकारीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । पछिल्ला चार दिनमा मात्रै चार जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

    माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई नेपाली, त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक तथा बेत्रावतीस्थित एक घरबाट एक नेपालीलाई जीवितै उद्धार गरिएको हो ।

    यद्यपि बाढीबाट ठूलो मानवीय क्षति भएको छ । मन्त्रालयका अनुसार ३५ देशका करिब ६०० विदेशी नागरिकसहित झण्डै पाँच हजार व्यक्ति अझै बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५५ वटा शव फेला परेको मन्त्रालयले जनाएको छ ।

    खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालसँगै विभिन्न मुलुकका विशेषज्ञ टोली परिचालन भएका छन् । भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन् भने संयुक्त अरब इमिरेट्स र मलेसियाका विशेषज्ञ टोली पनि उद्धार अभियानमा संलग्न छन् ।

    माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धारलाई निरन्तरता दिन थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    उद्धार अभियानमा देखिएको प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण उपलब्ध गराउन पुनः आग्रह गरेको छ । उच्च क्षमताका ड्रोन, लिडार प्रविधि, बेली ब्रिज, महामारी नियन्त्रणका सामग्री, डीएनए परीक्षण किट, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा हिलो र सुरुङमा उद्धार गर्न प्रयोग हुने विशेष पोसाक उपलब्ध गराउन अपिल गरिएको छ ।

    सरकारले विपद् प्रतिकार्यका लागि आफ्ना उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको भए पनि बाढीको व्यापकता र प्रभावित क्षेत्रको भौगोलिक कठिनताका कारण अन्तर्राष्ट्रिय सहयोग निरन्तर आवश्यक रहेको जनाएको छ ।

    यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकका समकक्षीसँग उद्धार तथा राहतका विषयमा निरन्तर समन्वय गरिरहेका छन् । सोमबार माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले परराष्ट्रमन्त्री खनालसँग टेलिफोन संवाद गर्दै सहयोग र समन्वयबारे छलफल गरेकी थिइन् ।

    बाढी प्रभावितको खोजी तथा उद्धारका साथै शव पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र कोरिया गणतन्त्रका फरेन्सिक विशेषज्ञ टोली नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन् । उनीहरूले डीएनए नमुना संकलन, परीक्षण तथा पहिचानको काम अघि बढाइरहेका छन् ।

    नेपाललाई विपद् प्रतिकार्यमा भारत, चीन, यूएई, बेलायत, जापान, अमेरिका, कतार, सिङ्गापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनीलगायत विभिन्न देश तथा युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघबाट सहयोग प्राप्त भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, शव पहिचान तथा बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइएको छ भने चीनमा रोकिएका नेपालीको सुरक्षित स्वदेश फिर्तीका लागि समेत सरकारी तहबाट आवश्यक समन्वय भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij