२०८३, भाद्र ३१ गते

Sep 16 2026

यूएन महासभामा नेपालको जलवायु संकट र बाढीको क्षति उठाउँदै प्रधानमन्त्री शाह

यूएन महासभामा नेपालको जलवायु संकट र बाढीको क्षति उठाउँदै प्रधानमन्त्री शाह

रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति र त्यसका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगको विषय प्रमुख रूपमा उठाउने भएका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार महासभाको उच्चस्तरीय सत्र आगामी सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनपछि बनेको सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा धारणा राख्नेछन्। साथै, नेपाललाई आवश्यक सहयोग र अन्तर्राष्ट्रिय सद्भावलाई निरन्तरता दिनसमेत उनले आग्रह गर्ने मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्रीले गत अगस्ट २६ मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनबाट नेपालले व्यहोर्दै आएको क्षतिबारे पनि विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको असर असमान रूपमा भोग्नुपरेको विषय उठाउँदै उनले जलवायु न्याय तथा क्षति र नोक्सानीबापत अन्तर्राष्ट्रिय सहयोगको माग गर्ने बताइएको छ।

    जलवायु परिवर्तनका असर सामना गर्न नेपाललाई उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि तथा आवश्यक क्षमता विकासमा सहयोग आवश्यक रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नेछन्। विकसित राष्ट्रबाट प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउनसमेत उनले अपिल गर्ने मन्त्रालयले जनाएको छ।

    महासभाकै अवसरमा नेपालले ‘हिमालदेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान’ विषयमा विशेष कार्यक्रम आयोजना गर्नेछ। उक्त कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिम, त्यसले पारिरहेको प्रभाव तथा समाधानका उपायबारे छलफल हुनेछ।

    यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले महासभाका विभिन्न मन्त्रीस्तरीय बैठक र उच्चस्तरीय छलफलमा सहभागिता जनाउनेछन्। उनले मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij