काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाकै आसपास रहेकाले वर्षाको गतिविधि जारी रहने देखिएको हो।
अहिले देशभर सामान्यतया बादल लागेको अवस्था छ। कोशी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभर मौसम बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भूभागमा भने धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईका विभिन्न भूभागमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
यसैबीच, पहाडी भूभागका साथै सुदूरपश्चिमको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, पहाडी तथा तराईका केही स्थानमा रातिको समयमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
