२०८३, भाद्र ३१ गते

Sep 16 2026

इराकबाट ड्रोन आक्रमणपछि साउदीले महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गर्‍यो

इराकबाट ड्रोन आक्रमणपछि साउदीले महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गर्‍यो

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • बग्दाद । मध्यपूर्वमा तनाव चर्किरहेका बेला इराकबाट भएको ड्रोन आक्रमणको प्रभाव साउदी अरबको तेल पूर्वाधारसम्म पुगेको छ। आक्रमणपछि साउदी अरबले आफ्नो एक प्रमुख तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

    इरानसँग सीमा जोडिएको इराकको मेसान प्रान्तबाट ड्रोन उडाएर साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनमा आक्रमण गरिएको पुष्टि भएपछि इराक सरकारले सम्बन्धित सैन्य कमान्डरलाई जिम्मेवारीबाट हटाएको छ। घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको इराकी अधिकारीहरूले बताएका छन्।

    आक्रमणपछि साउदी विदेश मन्त्रालयले पाइपलाइन बन्द गरिएको जानकारी दिँदै घटनामा केही व्यक्ति घाइते भएको र भौतिक संरचनामा क्षति पुगेको जनाएको छ। क्षतिको वास्तविक अवस्था यकिन गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयको भनाइ छ।

    करिब १ हजार २०० किलोमिटर लामो पूर्व–पश्चिम पाइपलाइन साउदी अरबका लागि रणनीतिक महत्त्वको पूर्वाधार हो। यसले साउदीलाई ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल पठाउनुपर्ने निर्भरता घटाउँदै वैकल्पिक मार्गबाट कच्चा तेल निर्यात गर्न सहयोग गर्छ। विश्लेषकहरूका अनुसार यसमार्फत विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हिस्सा ओसारपसार हुने गरेको छ।

    आक्रमण भएको क्षेत्र आसपासमा जमिन जलेको र धुवाँ उठिरहेको देखाउने स्याटेलाइट तस्बिर सार्वजनिक भएपछि साउदीले सुरक्षाका दृष्टिले पाइपलाइन सञ्चालन रोकेको बताइएको छ।

    तत्काल जवाफी कारबाही नगर्ने साउदीको संकेत

    घटनापछि साउदी र इराकबीच थप तनाव बढ्ने अनुमान भइरहेका बेला इराकी प्रधानमन्त्रीको आग्रहपछि तत्काल कुनै सैन्य जवाफी कदम नचाल्ने रियादले जनाएको छ।

    साउदी विदेश मन्त्रालयले इराकको भूमिबाट छिमेकी राष्ट्रविरुद्ध हुने यस्ता आक्रमण रोक्न इराक सरकारले गर्ने प्रयासलाई समर्थन गर्ने बताएको छ। साथै, आफ्नो सार्वभौमिकता, सुरक्षा र तेल पूर्वाधारको संरक्षणका लागि आवश्यक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि साउदीले स्पष्ट पारेको छ।

    इराकी प्रधानमन्त्रीको कार्यालयले मेसान प्रान्तका अपरेसन कमान्डरलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरेको छ। सोही क्षेत्रबाट साउदीको तेल पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण भएको प्रमाणित भएपछि कारबाही गरिएको बताइएको छ।

    मध्यपूर्वको तनावले तेल आपूर्तिमा थप जोखिम

    पछिल्लो घटनाले मध्यपूर्वका प्रमुख तेल ढुवानी मार्गमा सुरक्षा चुनौती थपिएको छ। इरान समर्थित समूहहरूको गतिविधि, यमनमा हुथी विद्रोहीको प्रभाव र अमेरिका–इरानबीच जारी तनावका कारण ऊर्जा आपूर्तिको सुरक्षामाथि चिन्ता बढिरहेको समयमा तेल पाइपलाइनमाथि भएको आक्रमणले थप दबाब सिर्जना गरेको हो।

    यसैबीच, यमनमा साउदी समर्थित सरकारी फौजले रणनीतिक तटीय सहर मोखामा हुथी विद्रोहीविरुद्ध कारबाही गरेको जनाएको छ। हुथी समूहले लाल सागरको तटीय क्षेत्रमाथि आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गरेको भोलिपल्ट उक्त सैन्य कारबाही भएको बताइएको छ।

    इराकबाट साउदीको तेल पूर्वाधारमा भएको आक्रमणको खाडी सहयोग परिषद्ले समेत निन्दा गरेको छ। साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतार र कुवेत सहभागी परिषद्ले क्षेत्रीय सुरक्षा र ऊर्जा पूर्वाधारमाथि हुने यस्ता आक्रमण रोक्नुपर्नेमा जोड दिएको छ।

    मध्यपूर्वमा जारी सैन्य तनाव लम्बिँदै जाँदा तेल उत्पादन तथा ढुवानी पूर्वाधारमाथि हुने आक्रमणले विश्व बजारमा आपूर्ति र मूल्य दुवैमा असर पार्न सक्ने चिन्ता बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij