२०८३, आश्विन २ गते

Sep 18 2026

काभ्रेमा डेङ्गुको जोखिम बढ्दो, बनेपा र पाँचखालमा बढी संक्रमण

काभ्रेमा डेङ्गुको जोखिम बढ्दो, बनेपा र पाँचखालमा बढी संक्रमण

रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको पाइएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको साउन १ देखि असोज १ गतेसम्म जिल्लाका विभिन्न क्षेत्रमा गरी ३२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

    जिल्लाका १३ स्थानीय तहमध्ये बनेपा र पाँचखाल नगरपालिका संक्रमणका हिसाबले बढी प्रभावित देखिएका छन्। जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार बनेपा र पाँचखालमा १३–१३ जनामा डेङ्गु पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा पनि थप तीन जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। नयाँ संक्रमितमध्ये पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका एक–एक जना रहेका छन्।

    यसैबीच धुलिखेल र पनौती नगरपालिकाका साथै भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु संक्रमण पुष्टि नभएको सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो।

    गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा ५९ जनामा डेङ्गु संक्रमण देखिएको थियो। यस वर्ष पनि मनसुनका कारण विभिन्न स्थानमा पानी जम्ने र लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्न सक्ने भएकाले संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरसफाइ तथा जनचेतनामूलक गतिविधिलाई तीव्र बनाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

    स्वास्थ्य कार्यालयले डेङ्गुबाट जोगिन घर तथा कार्यालय आसपास पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न र शरीरका अधिकांश भाग ढाकिने कपडा लगाउन आग्रह गरेको छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा आवश्यक उपचार गराउन पनि कार्यालयले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij