— राजन थापा
काठमाडौं / स्वास्थ्य सेवा भाषण, पोस्टर र नारामा सीमित हुनु हुँदैन। जहाँ नागरिक पीडामा छन्, त्यहीँ पुगेर उपचार गर्नु नै वास्तविक सेवा हो। यही भावनाका साथ ॐ समाज डेण्टल अस्पतालले प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको नियमित दन्त स्वास्थ्य शिविर २०८३ असोज ३ गते शनिबार नैकाप शाखामा भव्यताका साथ सम्पन्न भएको छ।
दाँत दुखेर छट्पटाइरहेका नागरिकलाई समुदायमै पुगेर उपचार र परामर्श दिने उद्देश्यले आयोजित शिविरमा स्थानीय नागरिकले दन्त परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श लिएका थिए। आर्थिक अभाव, पहुँचको कमी वा समयको अभावका कारण उपचारबाट टाढा रहेका नागरिकका लागि यस्ता शिविर राहतसँगै स्वास्थ्य सचेतनाको महत्वपूर्ण माध्यम बनेका छन्।
शिविर लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण, योगदान राष्ट्रको लागि चन्द्रागिरि नगर समिति, लायन्स क्लब इन्द्र अन्नपूर्ण, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरि डिलाइट तथा तारकेश्वर क्लब ६०को सहकार्यमा आयोजना गरिएको हो। ॐ समाज डेण्टल अस्पतालले प्राविधिक सहकार्य गरेको थियो।
कार्यक्रममा लायन्स क्लबका जोन चेयरपर्सन लायन इन्द्रबहादुर न्यौपाने, अमृत आचार्य, क्लबका पूर्व अध्यक्ष उदयप्रसाद भण्डारी, प्रथम उपाध्यक्ष लायन राजकुमार खरेल लगायत लायन्स पदाधिकारी, सदस्य तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। शिविरमा डा. सुप्रिता श्रेष्ठ, डा. श्रूति प्रिया र डा. सबिना दुवाडीले दन्त परीक्षण तथा आवश्यक परामर्श दिएका थिए। साबित्रा निरौलाले सहायकका रूपमा सेवा दिइन् भने शिविरको व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले सम्हालेका थिए।
डा. सुवास घिमिरे :
‘शिविर भनेको उपचार मात्रै होइन, विश्वास र मुस्कान बाँड्ने माध्यम हो’ ॐ समाज डेण्टल अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेले समुदायमा पुगेर गरिने स्वास्थ्य शिविरलाई अस्पतालको सेवाको महत्वपूर्ण विस्तारका रूपमा व्याख्या गरे। उनले भने, “दाँतको समस्या सामान्य जस्तो देखिए पनि त्यसले मानिसको दैनिक जीवन, खानपान र आत्मविश्वासमा ठूलो असर पार्न सक्छ।
आर्थिक अवस्था वा पहुँचको कमीका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनु हुँदैन। त्यसैले हामी अस्पतालमा मात्र होइन, नागरिक भएको ठाउँमा पुगेर सेवा गर्न चाहन्छौँ।” डा. घिमिरेले शिविरको अर्को महत्वपूर्ण पक्ष नागरिक र स्वास्थ्यकर्मीबीचको विश्वास भएको बताए। “हामीले एउटा दाँतको उपचार मात्र गरिरहेका हुँदैनौँ, हामी एउटा परिवारको पीडा कम गरिरहेका हुन्छौँ। उपचारपछि बिरामीको अनुहारमा देखिने मुस्कान नै हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो,” उनले भावुक हुँदै भने।
‘सेवा देखाउने होइन, महसुस गराउने कुरा हो’ नैकापकी डा. सुप्रिता श्रेष्ठले समुदायमै पुगेर उपचार गर्न पाउनु आफूहरूका लागि ठूलो सन्तुष्टि भएको बताइन्। “बिरामीको अनुहारमा पीडा देखिन्छ, उपचारपछि त्यही अनुहारमा मुस्कान फर्किन्छ। त्यो परिवर्तन देख्नु नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। समयमै दाँतको परीक्षण र उपचार गरे धेरै जटिलताबाट बच्न सकिन्छ,” उनले भनिन्। लायन्स क्लबका उपाध्यक्ष कुशण जंग थापाले सामाजिक सेवा नारामा होइन, व्यवहारमा देखिनुपर्ने बताए। “सेवा भाषण गरेर प्रमाणित हुँदैन। आवश्यक परेको मानिसको पीडामा उभिएर प्रमाणित हुन्छ। हाम्रो सानो प्रयासले कसैको दुखाइ कम हुन्छ भने त्यसलाई नै हामीले ठूलो उपलब्धि मानेका छौँ,” उनले भने।
लायन्स क्लबका सदस्य सोमप्रसाद सुवेदीले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन सामूहिक प्रयास आवश्यक रहेको बताए। “स्वास्थ्य सेवा कसैको आर्थिक अवस्था हेरेर रोकिनु हुँदैन। समुदायमा आवश्यकता छ भने सेवा त्यहीँ पुग्नुपर्छ। यस्ता शिविरलाई निरन्तरता दिनु हाम्रो प्रतिबद्धता हो,” उनले भने।
राजन थापा :
‘पीडामा परेको मानिसलाई देखेर चुप लाग्नु सेवा होइन’ शिविर व्यवस्थापनमा सक्रिय सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले स्वास्थ्य सेवा प्रचारको विषय नभई जिम्मेवारीको विषय भएको बताए। “पीडामा परेको मानिसलाई देखेर चुप लाग्नु सेवा होइन। उसको पीडा कम गर्न सक्ने ठाउँमा हामी पुग्नुपर्छ। एउटा बिरामीको दुखेको दाँत निको पारेर उसको अनुहारमा मुस्कान फर्काउन सकियो भने त्यसभन्दा ठूलो सम्मान मेरा लागि अरू केही हुँदैन,” थापाले भने। उनका अनुसार आर्थिक अभाव, पहुँचको कमी वा स्वास्थ्यसम्बन्धी जानकारीको अभावका कारण सामान्य उपचारबाट समेत कुनै नागरिक वञ्चित हुन नहुने बताए।
ॐ समाज डेण्टल अस्पतालले ‘सडकदेखि सदनसम्म उपचार’ भन्ने सेवामूलक उद्देश्यका साथ नियमित स्वास्थ्य शिविरमार्फत दन्त स्वास्थ्य सेवा समुदायसम्म पुर्याउँदै आएको छ। दाँतको पीडा बाहिरबाट सामान्य देखिए पनि पीडा भोग्ने व्यक्तिका लागि त्यो असह्य हुन सक्छ। त्यसैले एउटा दाँतको उपचार केवल उपचार मात्र होइन—कसैको पीडा घटाउने, आत्मविश्वास फर्काउने र अनुहारमा मुस्कान ल्याउने मानवीय प्रयास हो।
नैकापको शिविरले फेरि एकपटक यही सन्देश दिएको छ— “सेवा भाषणमा होइन, पीडामा साथ दिँदा देखिन्छ।”
