समिक्षा थापा
सुनसरी । दशैँ नजिकिँदै गर्दा सुनसरीको रामधुनी क्षेत्रका तराईका फाँटमा लहलहाउँदा धानका बाला बिस्तारै पाक्न थालेका छन् ।
चारैतिर फैलिएको हरियाली र पहेँलिँदै गरेका धानका बालाले गाउँघरमा दशैँ आएको आभास दिलाएको छ । तराई अन्नको भण्डारका रूपमा चिनिन्छ ।
यहाँका खेतमा लहलहाउँदो धानबाली देख्दा किसानहरू आफ्नो मेहनतको प्रतिफल सम्झेर रमाउँछन् । दिनरात खेतबारीमा पसिना बगाउने किसानका लागि हुर्कँदै गरेको बाली हेर्नु नै खुसी र सन्तुष्टिको विषय हो ।
रामधुनीका खेतमा देखिने हरियाली, हावासँगै लहराउने धानका बाला र बिस्तारै सुनौलो बन्दै गएको बालीले प्रकृतिलाई सुन्दर बनाएको छ ।
बालीको स्याहारसम्भार गर्दै आएका किसानका लागि यो दृश्यले मनमा शान्ति र नयाँ आशा जगाउँछ । दशैँको उत्साहसँगै खेतमा झुलिरहेका धानका बालाले गाउँको सौन्दर्य थपेको छ ।
प्रकृति, कृषि र किसानको मेहनत जोडिएको यो दृश्यले तराईको वास्तविक पहिचान झल्काउँछ ।
