काठमाडौं, हिमालका सेता चुचुरा पग्लिँदै जाँदा हिमनदी, बाढी, पहिरोलगायत जलवायुजन्य विपद्को जोखिम बढिरहेको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय मानव अधिकार विभागले ‘विश्व तापमानमा वृद्धि, नेपालको हिमाली क्षेत्रमा पर्ने जोखिम र जलवायु न्याय’ विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ।
असोज ४ गते मध्याह्न १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भएको कार्यक्रममा पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा राजनीतिक नेतृत्वसँगै मानव अधिकारकर्मी, संविधानविद्, कानुनविद् तथा जलवायु र विपद् विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता पद्मबहादुर श्रेष्ठ, डा. सुरेश मरहट्टा, डा.गंगालाल तुलाधर र डा.धर्मराज उप्रेतीलगायतले विभिन्न विषयमा धारणा राख्नेछन्।
नेपालमा बढ्दो जलवायु जोखिमको प्रभाव वातावरणमा मात्र सीमित नरही मानव अधिकार, जीविकोपार्जन र सामाजिक न्यायसँग समेत जोडिँदै गएको छ।
हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदीजन्य जोखिम बढिरहेको र जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीसम्बन्धी विषयमा नेपालले अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएको छ।
हिमाली समुदायका अधिकार, जलवायु अनुकूलन, हानि–नोक्सानी तथा राज्यको जिम्मेवारीबारे छलफल गर्दै प्रभावित समुदायका आवाजलाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले अन्तरक्रिया आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
