काठमाडौं । मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर दुई जनाको ज्यान गएको छ। हिजो राति तेस्रो शिविरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको हिउँले टेन्ट पुर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी नेपाली नागरिक फुर्सेम्बा शेर्पा रहेका छन्। मकालु एड्भेञ्चर कम्पनी प्राइभेट लिमिटेडमार्फत आरोहणमा गएका उनीहरूको टेन्ट करिब सात फिट बाक्लो हिउँले पुरिएको थियो। उनीहरूको शव आज सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
यस दुर्घटनासँगै मनास्लु हिमालमा चालु आरोहण याममा ज्यान गुमाउनेको कुल सङ्ख्या चार पुगेको छ। यसअघि दोस्रो शिविरमा सिङ्गापुरे आरोही ५० वर्षीय लाउ वी सेङ र आधारशिविरमा २० वर्षीय नेपाली सहयोगी टासी शेर्पाको पनि यसअघिनै निधन भइसकेको छ।
यस वर्षको शरद् ऋतुमा मनास्लु आरोहणका लागि ४८० जना विदेशी नागरिकले अनुमति लिएका छन्। हालसम्म हिमालको रोप फिक्सिङको काम पूरा भइसकेको छ भने अनुमति लिएका अन्य आरोहीहरू अहिले शिखर चुम्ने अन्तिम तयारीमा जुटेका छन्।
