काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरेको छ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले प्रतिवेदनलाई अन्तिम रूप दिँदै केन्द्रीय समितिका लागि विभिन्न एजेण्डाहरू तय गरिएको बताए।
उनका अनुसार आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका छन्।
पार्टीभित्र निकै चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा उठाइएका विभिन्न विषयबारे बोल्दै उपमहासचिव भट्टले कार्यदलले आफ्नो कार्यभार पूरा गरीसकेको स्पष्ट पारे। हिजै प्रतिवेदन बुझाइसकेपछि कार्यदलको औचित्य समाप्त भइसकेको र प्रतिवेदनमा समेटिएका सुझावहरूलाई अब अनुसूचीको रूपमा केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले जानकारी दिए।
अध्यक्षको असन्तुष्टि वा रिजर्भेसनबारे जिज्ञासा राख्दा भट्टले विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरण वा परिवर्तनसिका विषयमा यसअघि नै सहमति जुटिसकेको हुनाले अहिले त्यसमा कुनै किसिमको विवाद नरहेको प्रस्ट्याए। २९ पृष्ठ लामो सो प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित भइसकेकाले अब यस विषयमा थप बहस गर्न आवश्यक नरहेको उनको भनाइ थियो।
केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनको मुद्दा केही नेताहरूले उठाउने तयारी गरिरहेको प्रसङ्गमा उपमहासचिव भट्टले बैठकको समग्र कार्यसूची र त्यहाँ हुने छलफलको निष्कर्षका आधारमा पार्टीले आफ्नो आगामी रणनीति तय गर्ने बताए।
