काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सेप्टेम्बर २२ अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दुवै नेता न्युयोर्क पुगेका बेला भेटवार्ता हुन लागेको हो।
यसअघि सेप्टेम्बर २० मा ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको थियो। त्यस क्रममा दुवै नेताले न्युयोर्कमा प्रत्यक्ष भेटेर युक्रेन युद्धको समाधान र कूटनीतिक पहलका विषयमा छलफल गर्ने सहमति गरेका थिए। जेलेन्स्कीले भेटवार्ताले युद्ध समाधानको प्रयासमा नयाँ दिशा दिन सक्ने बताएका छन्।
जेलेन्स्कीका अनुसार शान्ति प्रक्रिया युक्रेनको पहिलो प्राथमिकता हो। उनले युद्धको तनाव कम गर्ने उपायसँगै ऊर्जा तथा खाद्य सुरक्षा र नागरिकको सुरक्षाका विषयमा अमेरिकी पक्षसँग छलफल भइरहेको बताएका छन्। साथै, शान्तिका लागि आवश्यक कदम चाल्न युक्रेन तयार रहेको उनको भनाइ छ।
टेलिफोन वार्ताका क्रममा ट्रम्पले रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गर्दै आएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमण रोक्न आग्रह गरेको एक्सियोसको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टअनुसार यस्ता आक्रमणले इन्धन, विशेषगरी डिजेलको मूल्यमा असर पार्न सक्ने विषयमा ट्रम्पले चासो व्यक्त गरेका थिए।
यसैबीच, अमेरिकी विशेष दूत स्टेभ विटकोफ र ज्यारेड कसनरले हालै युक्रेनको राजधानी किभ भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा युद्धको अवस्था र शान्ति प्रक्रियाबारे छलफल भएको थियो। जेलेन्स्कीले अमेरिकी टोलीको भ्रमणप्रति ट्रम्पलाई धन्यवाद दिएका छन्।
युक्रेनी मुख्य वार्ताकार रुस्तेम उमेरोभले अमेरिकी प्रतिनिधिसँगको छलफल युद्ध अन्त्य र युक्रेनका लागि सुरक्षा सुनिश्चित गर्ने उपायमा केन्द्रित रहेको बताएका छन्। उनका अनुसार वार्ता प्रक्रियामा केही जटिल विषयहरू अझै बाँकी छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथि थप प्रतिबन्धसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए। जेलेन्स्कीले उक्त कदमको स्वागत गर्दै ट्रम्पलाई धन्यवाद दिएका छन्।
कूटनीतिक प्रयास अघि बढिरहे पनि रुस–युक्रेनबीचको युद्ध जारी छ। यस्तो अवस्थामा न्युयोर्कमा हुने ट्रम्प–जेलेन्स्की भेटवार्तामा युद्ध अन्त्य, तनाव न्यूनीकरण र आगामी शान्ति प्रक्रियाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
