काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सिस्टममा देखिएको समस्या समाधान पछि नियमित सेयर कारोबार सञ्चालनमा आएको छ ।
७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गर्दै आएको डाटा हब प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेयर कारोबार नियमित रूपमा सञ्चालन हुने नेप्सेले जनाएको छ ।
डाटा हबमा देखिएको समस्याका कारण सोमबार नेप्सेमा निर्धारित समयअनुसार सेयर कारोबार सञ्चालन हुन सकेको थिएन ।
प्रणालीमा अनधिकृत पहुँच भएको आशंकापछि समस्या पहिचान तथा समाधानका लागि कारोबार रोकिएको थियो । घटनापछि डाटा हबको प्रणालीसँगै त्यसबाट प्रभावित हुनसक्ने कारोबार सदस्यहरूको डाटा सुरक्षाका विषयमा समेत अनुसन्धान अघि बढाइएको थियो ।
मंगलबार जारी सूचनामा भने डाटा हबमा देखिएको समस्या समाधान भएको जानकारी प्राप्त भएकाले २०८३ असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् कारोबार सञ्चालन हुने उल्लेख गरेको छ ।
नेप्सेका अनुसार डाटा हब प्रालि ७२ कारोबार सदस्यको डाटा सेन्टरका रूपमा रहेको छ । यद्यपि, समस्या समाधान भएको नेप्सेको दाबीपछि पनि घटनालाई सामान्य प्राविधिक समस्याका रूपमा मात्र लिन नहुने भन्दै आईटी विज्ञहरूले प्रणालीको सुरक्षा र सम्भावित जोखिमबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
