काठमाडौं । सोमबार त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको खुलेको छ ।
ट्राफिक प्रहरीसँगको झडपपछि उनले आफूले चलाएको बसमा आगजनी गरेको र त्यस क्रममा गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा रहेको खुलेको छ । उनका बाबु श्यामबहादुर दोङ तामाङ र आमा बिनु तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा अर्जुन यसअघि पनि दुई घटनामा संलग्न रहेको खुलेको छ । ती घटनामा उनले अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताए ।
त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
त्रिपुरेश्वरको पछिल्लो घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । उक्त अनुमतिपत्रका आधारमा प्रहरीले सुरुमा उनलाई दाबा लामा भएको जानकारी सञ्चारमाध्यमलाई दिएको थियो ।
थप अनुसन्धान गर्दा मृतकको वास्तविक पहिचान अर्जुन दोङ तामाङ रहेको खुलेको हो । प्रहरीले अर्जुनल दाबा लामाको नाममा रहेको बैंक खाता र नागरिकता समेत प्रयोग गर्दै आएको तथ्य फेला परेको जनाएको छ ।
अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र, नागरिकता, बैंक खाता तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
