रामेछाप । प्रतिकूल मौसमका कारण भारी वर्षा, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै खाँडादेवी गाउँपालिकाले पालिकावासीलाई सतर्क रहन अपिल गरेको छ ।
गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सार्वजनिक अपिल जारी गर्दै लगातारको वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने र खोला–नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले स्थानीय अवस्थाअनुसार पूर्वतयारी गर्न आग्रह गरेका छन् ।
अत्यधिक वर्षाको पूर्वानुमानलाई सामान्य रूपमा नलिन आग्रह गर्दै उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा जोखिम देखिए समयमै सुरक्षित स्थानतर्फ जान तयार रहन अनुरोध गरेका छन् । यद्यपि मौसम पूर्वानुमानमा उल्लेखित वर्षा सबै स्थानमा अनिवार्य रूपमा हुने भन्ने नबुझ्न पनि गाउँपालिकाले स्पष्ट पारेको छ ।
वडा–वडामा जोखिमअनुसार सतर्कता
गाउँपालिकाले वडा नं. १ देखि ९ सम्मका स्थानीय भूगोल र विगतको अवस्थालाई आधार बनाएर सम्भावित जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
वडा नं. १
मगर बस्ती आसपासको रसिलो जमिन तथा खोला क्षेत्रको अवस्था निगरानी गर्न भनिएको छ । चापाबोटभन्दा मुनिको पाङ्खर, रागथुरा पाङ्खरलगायतका क्षेत्र तुलनात्मक रूपमा स्थिर रहे पनि प्रतिकूल मौसममा सावधानी अपनाउन आग्रह गरिएको छ ।
वडा नं. २
अन्तर्गत फञ्च्याङ, होस्टेल डाँडा तथा विगतमा पहिरोको जोखिम देखिएका भिरालो भूभागका बासिन्दालाई विशेष सतर्क रहन भनिएको छ । खोला तथा खोल्सी आसपासका परिवारलाई पानीको बहाव बढे तत्काल सुरक्षित स्थानमा जान सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
वडा नं. ३
शिम्ले क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने क्षेत्रका रूपमा उल्लेख गरिएको छ । विगतमा पहिरो गएका क्षेत्रसहित कुथुरसाला, सुनारखोक, डब्खाको नमुना बस्ती, सेत्खा खोला, सेत्खा पुल र सेत्खा बजार आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
वडा नं. ४
दम्सिला तथा भिरालो तल्लो भूभागमा धेरै पानी परेको अवस्थामा पहिरो तथा जमिन चिप्लिने जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
वडा नं. ५
तत्काल ठूलो जोखिम नदेखिए पनि बेसिटोल, फुर्केसल्ला तथा अन्य भिरालो भूभागमा अत्यधिक वर्षाका कारण जमिन बग्न वा चिप्लिन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।
वडा नं. ६
अन्तर्गत माकादुम, गोगने, कुआँपानी, आङेतार र सिम्लेलगायतका तल्लो तथा भिरालो क्षेत्रमा विशेष निगरानी गर्न आग्रह गरिएको छ । नयाँ निर्माण भएका संरचना, जमिन काटेर बनाइएका संरचना, पालिकाको भवन तथा सामुदायिक आवासीय भवन आसपास र भिरको डिलमा रहेका संरचनामा विशेष ध्यान दिन भनिएको छ ।
वडा नं. ७
गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमध्ये एकका रूपमा उल्लेख गरिएको छ । बसेरीका थामी बस्ती, भन्ज्याङ, खर्डुङामुनिको खरीढुङ्गा, खर्डुङा, रस्काडा पहिरोमुनिको क्षेत्र, ताल्दुङ, ब्रुस्कोट, लिसपाटी, चोप्राङ, दबुडाँडा तथा डाँडाटोल आसपासका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ । बसेरी क्षेत्रमा करिब ७० घरधुरीको थामी बस्ती रहेकाले लगातार वर्षाका बेला थप निगरानी गर्न भनिएको छ ।
वडा नं. ८
जङ्गलजीको घरदेखि कालेमालीतर्फको भिरालो भूभाग तथा गागललगायतका क्षेत्रमा स्थानीय अवस्थाको निगरानी गर्न आग्रह गरिएको छ ।
वडा नं. ९
अन्तर्गत भदौरीएको डाँडा, बर्वडबाट माथि जाने बाटो, पिङ्खुरीतर्फको भिरालो क्षेत्र तथा डिल वा भिर नजिक रहेका विद्यालयमा सावधानी अपनाउन भनिएको छ । वडा कार्यालय जाने ठाडो बाटो वर्षाका कारण बिग्रन सक्ने भएकाले जोखिमपूर्ण अवस्थामा अनावश्यक आवतजावत नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
खोला किनारमा नजान आग्रह;
शीतखाको लुबु, कोथापे, शीतखा, डब्खा, पुजीघाट, रजगाउँ तथा नर्वदेश्वर महादेवदेखि भटौली खोलाको तल्लो भागसम्मका तटीय बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ ।
वर्षाका कारण खोला तथा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले खोला किनारमा नबस्न, पानी बढेको अवस्थामा खोला नतर्न तथा बालबालिका र पशुचौपायालाई खोला नजिक नपठाउन गाउँपालिकाले अनुरोध गरेको छ । रातिको समयमा तटीय क्षेत्रमा नजानसमेत आग्रह गरिएको छ ।
गाउँपालिकाले विगतका रोशीखोला र भोटेकोशी क्षेत्रका बाढी तथा जुरे पहिरो, इन्द्रावती–मेलम्ची क्षेत्रका बाढीबाट भएको क्षतिलाई ध्यानमा राख्दै पहाडी भूगोलमा बाढी–पहिरोको जोखिमलाई सामान्य रूपमा नलिन आग्रह गरेको छ ।
बाहिर रहेका पालिकावासीलाई परिवारको अवस्था बुझ्न आग्रह
काठमाडौं, देशका अन्य स्थान तथा विदेशमा रहेका खाँडादेवीवासीलाई गाउँमा रहेका परिवार, आफन्त तथा छिमेकीको अवस्था फोनमार्फत बुझ्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।
विशेषगरी खोला किनार, भिरालो जमिन तथा विगतमा पहिरोको जोखिम देखिएका बस्तीमा रहेका परिवारको घर वरपरको अवस्था, जमिन चर्किएको वा धसिएको अवस्था र खोला–नदीको बहावबारे जानकारी लिन अनुरोध गरिएको छ ।
गाउँपालिकाले सामाजिक सञ्जालमा आएका सूचनामात्र भर नपरी सरकारी तथा आधिकारिक मौसम सूचना हेर्न, अफवाह र अपुष्ट सूचना नफैलाउन पनि आग्रह गरेको छ ।
नागरिकलाई मोबाइल फोन चार्ज गरेर राख्न, आवश्यक सम्पर्क नम्बर सुरक्षित राख्न तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।
जोखिमयुक्त घर, सडक, पुल तथा सार्वजनिक संरचनाबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन र आफैँ जोखिमपूर्ण उद्धार कार्यमा नखटिन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
अध्यक्ष श्रेष्ठले यो कुनै क्षेत्रलाई असुरक्षित घोषणा गरिएको सूचना नभई स्थानीय भूगोल, विगतको अनुभव र प्रतिकूल मौसमलाई ध्यानमा राखेर सम्भावित जोखिमबाट जोगिन गरिएको पूर्वसावधानीको अपिल भएको स्पष्ट पारेका छन् ।
