ट्रम्प प्रशासनलाई झट्का, ३ सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन आदेश
काठमाडौँ । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेश पुनः दिन आदेश दिएको छ ।
अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले बिहीबार दिएको आदेशमा तीन सञ्चारमाध्यममाथि लगाइएको प्रतिबन्ध सम्भावित रूपमा संविधानविपरीत रहेको उल्लेख गरिएको छ। अदालतले पत्रकारहरूको प्रेस पास तत्काल पुनःस्थापित गर्नसमेत आदेश दिएको हो ।
ट्रम्पले गत सेप्टेम्बर १८ मा यी तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका थिए । उनले सामाजिक सञ्जालमार्फत ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘झुटा’ समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका थिए । त्यसपछि सञ्चारमाध्यमहरूले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्रेस स्वतन्त्रता र उचित कानुनी प्रक्रियाको अधिकार उल्लंघन भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
बुधबारको सुनुवाइमा न्यायाधीश केलीले पत्रकारको पहुँच रद्द गर्नुअघि प्रशासनले आवश्यक कानुनी प्रक्रिया पूरा गरेकोमा प्रश्न उठाएका थिए। यसअघि पनि अदालतका फैसलाहरूले पत्रकारको ह्वाइट हाउस प्रवेश अनुमति रद्द गर्नुअघि सूचना र आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने व्यवस्था औंल्याएका छन् ।
यता अमेरिकी न्याय मन्त्रालयले भने ह्वाइट हाउस प्रवेश पत्रकारहरूको निर्वाध अधिकार नभई विशेषाधिकार भएको तर्क गर्दै प्रशासनको निर्णयको बचाउ गरेको थियो। मन्त्रालयले राष्ट्रिय सुरक्षा र संवेदनशील सूचनाको संरक्षणलाई समेत प्रतिबन्धको आधारका रूपमा प्रस्तुत गरेको थियो ।
अदालतको पछिल्लो आदेशसँगै ट्रम्प प्रशासन र अमेरिकी सञ्चारमाध्यमबीच ह्वाइट हाउसमा पत्रकारको पहुँच तथा प्रेस स्वतन्त्रतासम्बन्धी विवाद थप कानुनी प्रक्रियामा अघि बढ्ने भएको छ ।
