काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको बताए । साथै, नेपालले सुरु नगरेका युद्ध तथा विश्वव्यापी आपूर्ति शृंखलामा आएका अवरोधको असरसमेत नेपाली नागरिकले व्यहोर्नुपरेको उनले उल्लेख गरे ।
शाहले नेपालमा किसानले समयमै मल नपाउने, सडक निर्माणका लागि आवश्यक बिटुमेन अभाव हुने र परिवारले खाना पकाउने ग्याससमेत सहज रूपमा नपाउने अवस्था रहेको उदाहरण प्रस्तुत गरे।
उनले एकातर्फ हिमनदी पग्लिने, बालीनालीमा क्षति हुने र बिनाचेतावनी बाढी आउने समस्या रहेको तथा अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृंखलामा देखिने अवरोधको भार गरिब मुलुकका नागरिकले बोक्नुपरेको बताए।
प्रधानमन्त्री शाहले विश्वको प्राथमिकतामाथि प्रश्न उठाउँदै युद्धका लागि आपूर्ति व्यवस्था प्रभावकारी भए पनि खाना र जनजीविकाका आवश्यक वस्तुको आपूर्ति कमजोर रहेको टिप्पणी गरे ।
उनले यो समस्या नेपालमा मात्र सीमित नभएको भन्दै बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायत दक्षिण एसियाली मुलुकले समेत जलवायु परिवर्तन र विश्वव्यापी संकटको असर भोगिरहेको बताए ।
शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी संकटको भार कसले बोक्ने र निर्णय प्रक्रियामा कसको आवाज रहने भन्ने विषयसँग जोड्नुपर्ने बताए । नेपालले जलवायुजन्य विपद्पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतामा समेत जोड दिनुपर्ने धारणा राखेको छ ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु जोखिममा रहेका मुलुकलाई पर्याप्त सहयोग गर्न आग्रह गर्दै कमजोर मुलुकलाई संकटको भार मात्रै बोकाउने विश्वव्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।
