नवलपुर । पूर्वी नवलपरासी हुँदै बग्ने नारायणी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि बाढीको जोखिम थप बढेको छ। देवघाटस्थित जलमापन केन्द्रमा शनिबार दिउँसो ३ बजेको मापनअनुसार नदीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ। यहाँ ९ मिटरलाई खतराको तह मानिन्छ।
जलमापन केन्द्रका अनुसार नारायणीको जलस्तर निरन्तर उकालो लागिरहेको छ। देवघाटमा नदीको सतह ७ दशमलव ३ मिटर पुगेपछि चेतावनीको तह सुरु हुने भएकाले शुक्रबार रातिदेखि नै नदीले चेतावनीको सीमा पार गरिसकेको थियो।
जलस्तर बढ्दै गएपछि नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए। उनका अनुसार नदी किनारमा नजान स्थानीयवासीलाई माइकिङमार्फत सचेत गराउने तथा सम्भावित जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।
नारायणीको बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका बढी प्रभावित हुन सक्ने प्रशासनको आकलन छ। त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिकामा कालीगण्डकी नदीको बाढी तथा पहिरोको जोखिम रहेकाले आवश्यक तयारी गरिएको प्रशासनले जनाएको छ।
सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। उद्धार, राहत तथा विपद्जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।
गण्डक ब्यारेजका सबै ढोका खोलिए
नारायणी नदीमा पानीको बहाव बढेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। ब्यारेजमा पानीको बहाव तीन लाख क्युसेक नाघेपछि चेतावनीको अवस्था मानिनेमा हाल पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको बताइएको छ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालका अनुसार शुक्रबार रातिदेखि नै ब्यारेजका सबै ढोका खुला राखिएको हो। नदीमा पानी बढेसँगै नेपाल र भारततर्फ जाने दुवै नहरमा पानीको बहाव पूर्ण रूपमा बन्द गरिएको उनले जानकारी दिए।
ब्यारेजको माथिल्लो भागमा पानीको सतह ३५९ दशमलव २ फिट र तल्लो भागमा ३५७ दशमलव ६ फिट पुगेको पालले बताए। जलस्तर बढ्दै जाँदा सुस्ताका केही भूभाग डुबानमा पर्न थालेकाले प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनले नारायणी तथा कालीगण्डकी नदी आसपासका बासिन्दालाई नदीको बहाव बढिरहेको अवस्थामा विशेष सावधानी अपनाउन, नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।
