२०८३, कार्तिक ९ गते

Oct 25 2026

नेकपा एमालेबाट के सिक्ने ?

नेकपा एमालेबाट के सिक्ने ?

रोज नेपाल
शनिवार, आश्विन १० २०८३
रोज नेपाल
शनिवार, आश्विन १० २०८३
  • गङ्गा गुरुङ

    चमत्कारले होइन, संगठन, विचार, विधान र सामूहिक निर्णयले पार्टी बलियो बन्छ।

    राजनीतिमा चमत्कारको चर्चा धेरै हुन्छ। कुनै नेता असाधारण छवि बनाउँछन्, कुनै नेता भाषण र निर्णय क्षमताका कारण चर्चाको केन्द्रमा पुग्छन्। तर पार्टी निर्माण चमत्कारले हुँदैन। विचारले, संगठनले, विधानले, अनुशासनले र सामूहिक निर्णय प्रक्रियाले पार्टी निर्माण हुन्छ । यही सामान्य सत्यलाई बिर्सिँदा राजनीतिक दल संस्था होइन, व्यक्तिको वरिपरि घुम्ने शक्ति संरचनामा बदलिन थाल्छन्।

    आज नेपाली कम्युनिष्ट आन्दोलनले गम्भीरतापूर्वक सोच्नुपर्ने प्रश्न पनि यही हो । हामीले एमालेबाट के सिक्ने ? सिक्ने हो भने व्यक्तिपूजा सिक्ने होइन। कुनै एक नेताको शैलीलाई राजनीतिक आदर्श बनाएर हिँड्ने होइन। सिक्ने कुरा त संगठन निर्माण, जनसंगठन परिचालन, राजनीतिक प्रभाव विस्तार र चुनावी प्रतिस्पर्धाको अनुभव हो । त्योसँगै पार्टीभित्र देखिएका कमजोरी, विवाद र विधिसम्बन्धी प्रश्नबाट पनि शिक्षा लिनुपर्छ। किनकि इतिहासको शिक्षा भनेको आफूलाई मन परेको कुरा मात्र टिपेर लैजानु होइन। सफलताबाट प्रेरणा लिनु र कमजोरीबाट चेतावनी लिनु पनि हो।

    एमाले अध्यक्ष केपी शर्मा ओलीका अनेकौँ अभिव्यक्ति नेपाली राजनीतिक वृत्तमा चर्चित भए। भगवान् शिवको थर चाम्लिङदेखि राम ठोरीमा जन्मेको प्रसङ्ग, मरिचको रूखको आकारदेखि कोरोना भगाउने सूत्रसम्मका अभिव्यक्तिमाथि सार्वजनिक बहस भए। ती अभिव्यक्तिको मूल्याङ्कन इतिहास र जनताले गर्नेछन्। तर अहिलेको मूल राजनीतिक प्रश्न त्यसभन्दा गम्भीर छ।

    विधान महाधिवेशनमा प्रवेश नदिइएकी विद्या भण्डारीलाई पछि एमालेको विधानमा स्पष्ट व्यवस्था नभएको भनिएको ‘वरिष्ठ नेता’ पदमा मनोनयन गरिएको प्रसङ्गले पार्टीभित्र विधान, विधि र संस्थागत निर्णयको स्थानबारे प्रश्न उठाएको छ। यसलाई कसैले राजनीतिक आवश्यकता भनेर व्याख्या गर्न सक्छ, कसैले नेतृत्वको अधिकारका रूपमा। तर लोकतान्त्रिक पार्टी निर्माणका लागि प्रश्न उठ्नु स्वाभाविक छ । विधान सबैका लागि समान हो कि परिस्थितिअनुसार बदलिने राजनीतिक औजार ? विधान पार्टी सञ्चालनको आधार हो। नेतृत्वलाई मन परेको बेला प्रयोग गर्ने र अप्ठ्यारो पर्दा व्याख्या बदल्ने दस्तावेज विधान होइन। यदि कुनै व्यवस्था अपर्याप्त छ भने त्यसलाई संस्थागत प्रक्रियाबाट संशोधन गर्न सकिन्छ। तर पहिले व्यक्ति वा परिस्थितिअनुसार निर्णय गर्ने अनि त्यसलाई वैध देखाउन विधान खोज्ने प्रवृत्तिले पार्टीको संस्थागत चरित्रलाई कमजोर पार्छ। यही ठाउँमा नेपाली कम्युनिष्ट आन्दोलनले गम्भीर पाठ सिक्नुपर्छ।

    नेता ठूलो हुन सक्छ, तर पार्टीभन्दा ठूलो हुनु हुँदैन। नेतृत्व शक्तिशाली हुन सक्छ, तर विधानभन्दा माथि हुनु हुँदैन। लोकप्रियता महत्वपूर्ण हुन सक्छ, तर संस्थाभन्दा माथि हुनु हुँदैन। नेपालको राजनीतिमा एउटा अर्को भ्रम पनि छ ठूलो पार्टी नै बलियो पार्टी हो। धेरै सदस्य, धेरै सांसद, ठूलो जनसंगठन र ठूलो चुनावी मत भएको पार्टीलाई बलियो मान्ने गरिन्छ। तर संख्या पार्टीको आकार हो, गुण पार्टीको शक्ति हो। पार्टी बलियो त्यतिबेला हुन्छ, जब कार्यकर्ताले प्रश्न गर्न पाउँछन्। फरक मत राख्दा कारबाहीको डर हुँदैन। नेतृत्वको आलोचना गर्दा शत्रु घोषणा गरिँदैन। निर्णय प्रक्रियामा संस्थाको भूमिका हुन्छ। विचार स्पष्ट हुन्छ। कार्यकर्ता सम्मानित हुन्छन्। नेतृत्व जनताप्रति मात्र होइन, आफ्नै संगठनप्रति पनि जवाफदेही हुन्छ। पार्टीको शक्ति नारामा होइन, व्यवहारमा देखिन्छ।

    आज नेपाली कम्युनिष्ट पार्टीहरूका अगाडि यही चुनौती छ। पार्टी एकता गर्ने, नयाँ समिति बनाउने, पद बाँड्ने र नेतृत्व चयन गर्ने काम आवश्यक छन्। तर यिनले मात्र नयाँ राजनीतिक शक्ति निर्माण गर्दैनन्। एउटै पुरानो संस्कार बोकेर नयाँ पार्टीको बोर्ड झुन्ड्याउँदैमा राजनीति नयाँ हुँदैन। नयाँ पार्टी चाहिएको होइन, नयाँ राजनीतिक संस्कार चाहिएको हो। व्यक्तिभन्दा पार्टी ठूलो हुने संस्कार चाहिएको हो। गुटभन्दा संगठन ठूलो हुने संस्कार चाहिएको हो। पदभन्दा विचार ठूलो हुने संस्कार चाहिएको हो। आदेशभन्दा सामूहिक निर्णय ठूलो हुने संस्कार चाहिएको हो। प्रचारभन्दा परिणाम ठूलो हुने संस्कार चाहिएको हो।

    कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विडम्बना यही हो कि सामूहिकता र वर्गीय मुक्तिको कुरा गर्ने पार्टीहरू स्वयं नेतृत्वको व्यक्तिकेन्द्रित संरचनामा फस्ने गर्छन्। सिद्धान्तमा सामूहिक नेतृत्व, व्यवहारमा एकल निर्णय, भाषणमा लोकतन्त्र, अभ्यासमा गुट. दस्तावेजमा विधि, व्यवहारमा पहुँच यो विरोधाभासले कुनै पनि पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्दैन। अव एमालेको नेतृत्व, गुट, विधान, आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियाका विषयमा उठेका प्रश्नबाट पनि अरुले सिक्नुपर्छ। राजनीतिक शिक्षा भनेको प्रशंसा र आलोचनाको बीचबाट सत्य निकाल्नु हो।

    कुनै पनि कम्युनिष्ट पार्टीले अब आफूलाई एउटा प्रश्न सोध्नैपर्छ हामी नेता बनाउँदैछौँ कि संस्था ? हामी अनुयायी उत्पादन गर्दैछौँ कि राजनीतिक कार्यकर्ता ? हामी आदेश पालना गर्ने भीड बनाउँदैछौँ कि विचार गर्न सक्ने संगठन ? हामी पद खोज्ने कार्यकर्ता बनाउँदैछौँ कि समाज परिवर्तनका लागि प्रतिबद्ध राजनीतिक शक्ति ? यी प्रश्नको उत्तरले नै आगामी कम्युनिष्ट आन्दोलनको चरित्र निर्धारण गर्नेछ।

    इतिहासले देखाएको छ व्यक्ति शक्तिशाली हुँदा पार्टी केही समय शक्तिशाली देखिन सक्छ। तर व्यक्ति कमजोर भएपछि संस्था पनि कमजोर हुन्छ भने त्यो संस्थागत शक्ति होइन। वास्तविक पार्टी शक्ति त्यतिबेला देखिन्छ, जब नेतृत्व परिवर्तन हुँदा पनि विचार, संगठन, नीति र संस्थागत प्रक्रिया निरन्तर रहन्छ। त्यसैले अब नेपाली कम्युनिष्ट आन्दोलनले ‘को अध्यक्ष ?’, ‘को महासचिव ?’, ‘कसलाई कुन पद ?’, ‘कुन गुटको कति भाग ?’ भन्ने प्रश्नभन्दा माथि उठ्नुपर्छ। प्रश्न त यो हो कस्तो पार्टी ? कस्तो विचार ? कस्तो संगठन ? कस्तो नेतृत्व ? र कस्तो राजनीतिक संस्कार ? समितिमा केही नाम थपेर पार्टी बलियो हुँदैन। पद बाँडेर एकता बलियो हुँदैन। नारामा समाजवाद लेखेर समाजवाद आउँदैन। पार्टीको नाममा कम्युनिष्ट जोडेर कम्युनिष्ट चरित्र स्थापित हुँदैन। कम्युनिष्ट पार्टीको वास्तविक परीक्षा उसको संगठनात्मक लोकतन्त्र, श्रमजीवी जनताप्रतिको प्रतिबद्धता, सामाजिक न्यायप्रतिको व्यवहार र आफ्नै नेतृत्वलाई जवाफदेही बनाउने क्षमतामा हुन्छ। त्यसैले एमालेबाट सिक्ने हो भने ओलीको पूजा होइन, संगठनको पाठ सिकौँ। व्यक्तिको महिमा होइन, संस्थाको शक्ति बुझौँ। विधानलाई आफ्नो सुविधाअनुसार मोड्ने होइन, विधानलाई सबैभन्दा माथि राख्ने संस्कार निर्माण गरौँ।

    अन्ततः प्रश्न कसले कति चमत्कार गर्‍यो भन्ने होइन। प्रश्न यो हो हामीले कस्तो राजनीति छोडेर जाँदैछौँ ? नेताहरू आउँछन्, जान्छन्। पदहरू बदलिन्छन्। गुटहरू बन्छन्, भत्किन्छन्। तर संस्थागत राजनीतिक संस्कार पुस्तौँसम्म बाँच्छ। त्यसैले व्यक्तिपूजा होइन, विचार गुट होइन, संगठन पद होइन, प्रतिबद्धता आदेश होइन, सामूहिक निर्णय प्रचार होइन, व्यवहार र शक्तिको दम्भ होइन, नेतृत्वको जवाफदेहिता आजको आवश्यता हो । यही सिकाइ नेपाली कम्युनिष्ट आन्दोलनको आगामी यात्राको आधार बन्नुपर्छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij