२०८३, कार्तिक ९ गते

Oct 25 2026

देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । मनसुनी प्रणालीको प्रभाव कायमै रहँदा आइतबार देशका अधिकांश भूभागमा मौसम बदली हुने तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमतर्फ मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास र पूर्वतर्फ औसतभन्दा केही दक्षिणमा रहेको छ।

    देशभर मनसुनी तथा पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावसमेत देखिएको महाशाखाले जनाएको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही भूभागमा वर्षा भइरहेको छ। कोशी र मधेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बढी बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्यतया बादल लाग्नेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

    कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि यस्तै वर्षाको सम्भावना रहेको छ।

    यसबीच सुदूरपश्चिमका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

    रातिको समयमा पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    तराई क्षेत्रमा समेत राति वर्षाको सम्भावना कायमै रहनेछ। विशेषगरी सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

    मौसममा आएको यस्तो परिवर्तनका कारण भारी वर्षा हुने सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी, खोला र पहिरोको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij