२०८३, कार्तिक ९ गते

Oct 25 2026

कुलेखानीमा बढ्दै पानीको सतह, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

कुलेखानीमा बढ्दै पानीको सतह, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । निरन्तरको वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र रूपमा बढेपछि तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    आइतबार बिहान ६ बजेसम्मको मापनअनुसार जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ३७ मिटर पुगेको छ। शनिबार राति १० बजे १ हजार ५२४ दशमलव ०९ मिटर रहेको जलसतह केही घण्टामै १ दशमलव २८ मिटरले बढेको हो।

    जलमापन केन्द्रको विवरणअनुसार राति १२ बजे जलसतह १ हजार ५२४ दशमलव १३ मिटर थियो। त्यसपछि बिहान २ बजे १ हजार ५२४ दशमलव ३६ मिटर, ३ बजे १ हजार ५२४ दशमलव ६३ मिटर र ५ बजे १ हजार ५२५ दशमलव ११ मिटर पुगेको थियो। बिहान ६ बजेसम्म आइपुग्दा जलसतह १ हजार ५२५ दशमलव ३७ मिटर पुगेको हो।

    कुलेखानीको जलाधार क्षेत्रमा अहिले प्रतिघण्टा करिब ११ मिलिमिटर वर्षा भइरहेको जनाइएको छ। वर्षासँगै जलाशयमा पानीको सतह पनि प्रतिघण्टा करिब २२ देखि २३ सेन्टिमिटरका दरले बढिरहेको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेकाले हाल उक्त सीमासम्म पुग्न करिब ४ दशमलव ६३ मिटर बाँकी छ।

    पानीको चाप निरन्तर बढेपछि कुलेखानी जलविद्युत् आयोजनाका प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। जलसतह बढ्ने क्रम नरोकिए बाँधबाट नियन्त्रित रूपमा पानी निकास गर्ने विषयमा प्राविधिक तथा व्यवस्थापन टोलीले छलफल गरिरहेको छ।

    सम्भावित जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई समयमै जानकारी गराउन साइरन बजाउने तथा मोबाइलमार्फत एसएमएस पठाउने तयारीसमेत भइरहेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले बताएका छन्।

    सम्बन्धित निकायले जलाशयको अवस्था निरन्तर निगरानी गरिरहेको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी तथा खोलानजिक नजान, सुरक्षित स्थानमा रहन र आधिकारिक सूचनालाई मात्र आधार बनाएर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij