काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान करिब ४–५ बजेतिर घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा श्यामकुमारीका १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
यसैबीच, सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पनि पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा पहिरोले बगाएको जनाइएको छ।
