झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ ।
लगातारको वर्षाका कारण पूर्वनिर्धारित असोज १० गतेको कार्यतालिका प्रभावित भएपछि निर्वाचन समितिले असोज १३ गतेभित्र आफूअनुकूल मितिमा अधिवेशन गर्न जिल्लाहरूलाई विकल्प दिएको थियो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा अधिवेशन हुँदैछ ।
यसअघि मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । केही जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने बाँकी जिल्लामा पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन् । महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय नेतादेखि युवा नेता तथा कार्यकर्ता सम्म प्रतिस्पर्धामा छन् ।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ।
