२०८३, कार्तिक १० गते

Oct 26 2026

बाढीले बगाएको ६० टनको क्रुज नारायणी पुलमै अड्कियो

बाढीले बगाएको ६० टनको क्रुज नारायणी पुलमै अड्कियो

रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
  • चितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको विशाल ‘राइनोज क्रुजसिप’ चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा अड्किएपछि उक्त पुलबाट हुने सम्पूर्ण आवागमन बन्द गरिएको छ।

    आइतबार साँझ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ स्थित होटल रिभर क्राउनबाट बाढीले बगाएको क्रुज पुलको संरचनामा आएर अड्किएको हो। पुलको पिलरमा ठोक्किएर क्रुज अड्किएपछि पुलमा थप क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दुवैतर्फबाट सवारी तथा पैदल यात्रामा रोक लगाइएको हो।

    आवागमन बन्द भएपछि नारायणगढ र गैँडाकोट दुवैतर्फ ठूलो संख्यामा सवारीसाधन रोकिएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यो पुल चितवनलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले अवरोधका कारण यात्रु तथा मालवाहक सवारी प्रभावित भएका छन्।

    क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलका अनुसार करिब ६० टन तौलको क्रुजलाई २० एमएमका दुईवटा टु–चेन डोरी प्रयोग गरी सुरक्षित रूपमा बाँधेर राखिएको थियो। तर, नदीमा एक्कासि आएको अत्यधिक ठूलो बाढीका कारण बाँधिएको संरचनाले भार थेग्न नसकेपछि क्रुज बगेर पुलसम्म पुगेको उनको भनाइ छ।

    करिब ९५ फिट लामो र २१ फिट चौडा क्रुज ठूलो आकारको भएकाले तत्कालै हटाउन चुनौती देखिएको छ। त्यसलाई किनारतर्फ तान्न ठूला क्रेन तथा एक्साभेटर प्रयोग गर्ने विकल्पबारे सम्बन्धित निकायबीच छलफल भइरहेको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुज हटाउने विषयमा प्राविधिक टोलीसँग आवश्यक परामर्श भइरहेको बताएका छन्। प्राविधिक अध्ययनपछि क्रेन वा अन्य भारी उपकरण प्रयोग गरेर हटाउने अथवा त्यसरी सम्भव नभए संरचनालाई काटेर हटाउने विकल्पमा निर्णय गरिने उनको भनाइ छ।

    क्रुज हटाउने क्रममा पुलको संरचनामा थप क्षति नपुगोस् भन्ने विषयलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा तथा प्राविधिक टोली परिचालन गरी पुलको अवस्था र क्रुज हटाउने सम्भावित उपायबारे तयारी भइरहेको छ।

    नदीको बहाव केही कम भएपछि उद्धार तथा हटाउने काम सहज हुने अपेक्षा गरिएको छ। पुलको प्राविधिक तथा संरचनागत जोखिम मूल्यांकन पूरा भएपछि मात्रै यातायात पुनः सञ्चालन गर्ने निर्णय गरिने प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij