२०८३, कार्तिक ९ गते

Oct 25 2026

१२ वर्षमै मोबाइल, १४ वर्षमा खानपानको समस्या! अभिभावकलाई अनुसन्धानकर्ताको चेतावनी

१२ वर्षमै मोबाइल, १४ वर्षमा खानपानको समस्या! अभिभावकलाई अनुसन्धानकर्ताको चेतावनी

रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । सानो उमेरमै बालबालिकाको हातमा स्मार्टफोन दिनु उनीहरूको मनोरञ्जन र सम्पर्कको माध्यम मात्र नभई स्वास्थ्यसँग पनि जोडिन सक्ने देखिएको छ ।

    अमेरिकामा गरिएको नयाँ अध्ययनले १२ वर्षको उमेरमै आफ्नै स्मार्टफोन भएका बालबालिकामा १४ वर्षको उमेरसम्म ‘इटिङ डिसअर्डर’ अर्थात् खानपानसम्बन्धी समस्याका लक्षण देखिने सम्भावना स्मार्टफोन नभएका बालबालिकाको तुलनामा बढी रहेको देखाएको छ ।

    मेडिकल जर्नल जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययन अमेरिकाभरका करिब ९ हजार किशोरकिशोरीको तथ्यांकमा आधारित छ ।

    अध्ययनका प्रमुख लेखक तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका बालरोग विशेषज्ञ डा. जेसन नागाटाका अनुसार स्मार्टफोनले बालबालिकालाई सामाजिक सञ्जाल र शरीरको बाहिरी स्वरूपमा केन्द्रित सामग्रीको सहज पहुँच दिन्छ । यस्ता सामग्रीले बालबालिकामा आफ्नो शरीरप्रति असन्तुष्टि र अस्वस्थ खानपानको व्यवहार बढाउन सक्ने उनको भनाइ छ ।

    अध्ययनमा १२ वर्षका करिब ७० प्रतिशत बालबालिकासँग आफ्नै स्मार्टफोन रहेको पाइएको थियो । तीमध्ये १४ वर्षको उमेरसम्म करिब २४ प्रतिशतमा कम्तीमा एउटा इटिङ डिसअर्डरसम्बन्धी लक्षण देखिएको थियो । स्मार्टफोन नभएका बालबालिकामा भने यस्तो लक्षण देखिने दर १६ प्रतिशतभन्दा कम थियो ।

    स्मार्टफोनसँगै बढ्दैछ शरीरप्रतिको तुलना

    किशोरावस्थाको सुरुवाती चरणमा बालबालिकाको शरीर र भावनामा तीव्र परिवर्तन हुने गर्छ । यही समयमा उनीहरूले आफ्ना साथीहरूसँग आफूलाई तुलना गर्न थाल्छन् ।

    सामाजिक सञ्जालले भने यस्तो तुलना अझ फराकिलो बनाइदिएको अनुसन्धानकर्ताहरूको भनाइ छ । फिल्टर, सम्पादन र आकर्षक ढंगले प्रस्तुत गरिएका तस्बिर तथा भिडियो हेर्दा बालबालिकाले आफ्नो शरीरलाई अरूसँग तुलना गर्न सक्छन् ।

    यसले आत्मसम्मान घटाउने र आफ्नो शरीरप्रति असन्तुष्टि बढाउने जोखिम सिर्जना गर्न सक्छ ।

    अध्ययनअनुसार, १२ वर्षमै स्मार्टफोन भएका बालबालिकामा आफ्नो आत्मसम्मानलाई तौलसँग जोड्ने सम्भावना करिब दुई गुणा बढी थियो । त्यस्तै, तौल नियन्त्रण गर्न कम क्यालोरी भएका खाना खाने वा अत्यधिक व्यायाम गर्ने जस्ता व्यवहार देखाउने सम्भावना पनि बढी पाइएको थियो ।

    अभिभावकले के गर्ने?

    अनुसन्धानकर्ताहरूले बालबालिकालाई स्मार्टफोन दिनै नहुने निष्कर्ष भने निकालेका छैनन् ।      कुन उमेरमा दिने र कसरी प्रयोग गर्न दिने भन्ने विषयमा अभिभावक सचेत हुनुपर्ने उनीहरूको सुझाव छ ।

    विशेषज्ञहरूका अनुसार साना बालबालिकालाई स्मार्टफोन दिइसकेपछि एप डाउनलोडमा सीमा लगाउने, सामाजिक सञ्जालको प्रयोगमा निगरानी राख्ने तथा राति सुत्ने समयमा फोनलाई शयनकक्षमा लैजान नदिने जस्ता उपाय अपनाउन सकिन्छ ।

    बालबालिकाले अनलाइनमा के हेरिरहेका छन् भन्ने विषयमा अभिभावकले उनीहरूसँग खुलेर कुराकानी गर्न पनि आवश्यक रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

    विशेषगरी बच्चाको खानपान, तौल, शरीरको बनावट वा आफ्नो रूपरङ्गबारे कुराकानी गर्ने। शैलीमा अचानक परिवर्तन आएको छ कि छैन भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

    सामाजिक सञ्जालका प्रमुख प्लेटफर्महरूले सामान्यतः खाता खोल्न न्यूनतम उमेर १३ वर्ष तोके पनि यसअघिको अनुसन्धानले ११–१२ वर्षकै धेरै बालबालिका यस्ता प्लेटफर्ममा सक्रिय रहेको देखाएको थियो ।

    त्यसैले बच्चाको हातमा स्मार्टफोन पुग्नु मात्र मुख्य विषय नभई त्यसपछि उनीहरू कुन सामग्री हेर्छन् । कति समय प्रयोग गर्छन् र डिजिटल संसारसँग कसरी जोडिन्छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij