काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा कानुन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ६ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेस गरिनेछ ।
त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक सदनमा पेस गर्ने भएकी छन् । तीमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण, पहिलो संशोधन विधेयक, २०८३ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक २०८३ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ रहेका छन् ।
यसरी सोमबारको प्रतिनिधिसभा बैठकमा कानुन, महिला तथा सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरू विधेयकमार्फत सदनमा प्रवेश गर्ने भएका छन् । अब यी विधेयकमा सांसदहरूबीच छलफल र संसदीय प्रक्रिया अघि बढ्नेछ ।
।
