काठमाडौं । नेकपा सांसद युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै छाडिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले विपत्तिका बेला नागरिकको उद्धार र राहतमा ध्यान दिनुपर्ने सरकारको ध्यान अन्यत्र केन्द्रित भएको भन्दै प्रश्न उठाए ।
जबरालाई सुरक्षा जोखिमका कारण प्रहरी कार्यालय लगिएको प्रहरीको दाबीप्रति प्रश्न गर्दै दुलालले सुरक्षा खतरा भएको व्यक्तिलाई नियन्त्रणमा लिने कि खतरा दिने व्यक्तिमाथि कारबाही गर्ने भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे ।
‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो। सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ?’ दुलालले प्रश्न गरे । उनले जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडिएको विषयमा पनि प्रश्न उठाए ।
सुरक्षा जोखिमकै कारण नियन्त्रणमा लिइएको भए त्यसको प्रकृति र आवश्यक सुरक्षा व्यवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । प्रहरीले भने जबरालाई पक्राउ नगरिएको र सम्भावित सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको बताएको छ । प्रहरीका अनुसार उनलाई पछि परिवारको जिम्मा लगाएर छाडिएको हो ।
दुलालले सरकारलाई संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार अघि बढ्न आग्रह गर्दै पछिल्ला घटनाबारे संसदमार्फत जनतालाई स्पष्ट जवाफ दिन माग गरेका छन् ।
