काठमाडौं । देशमा मनसुनी गतिविधि अझै सक्रिय रहेकाले आज पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ। नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव देखिएको छ।
हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहेको छ।
दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका एक–दुई स्थान तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
यस्तै, आज राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा मौसमको अवस्था हेरेर दैनिक गतिविधि सञ्चालन गर्न महाशाखाले आग्रह गरेको छ।
