काठमाडौं । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणका विषयमा सरकारले संसद्लाई जानकारी नगराएको भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाइएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी गराउने स्थापित संसदीय परम्परा सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि मात्र नभई स्वदेश फर्किएपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका विषयमा सदनलाई जानकारी गराउनुपर्ने बताइन् ।
‘सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ । भ्रमणका बारेमा सदनमा जवाफ आउनुपर्छ । सांसद हमालले भनिन् ।
प्रधानमन्त्रीको भ्रमण र त्यहाँ भएका छलफल सार्वजनिक सरोकारका विषय भएकाले सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले महत्वपूर्ण विदेश भ्रमणबारे संसद्लाई विश्वासमा लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
