विराटनगर । तास खेलिरहेको आरोपमा पक्राउ परेका विराटनगरका एक व्यक्ति प्रहरी हिरासतमा अचेत अवस्थामा भेटिएका छन् ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई पक्राउ गरिएको थियो ।
मंगलबार बिहान चिया खानका लागि साथीहरूले उठाउँदा नबोलेपछि कोइराला अचेत अवस्थामा रहेको थाहा भएको थियो । उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था गम्भीर रहेको र अचेत अवस्थामै उपचार भइरहेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालाको यसअघि दुर्घटनामा परी टाउकोको शल्यक्रिया भएको खुलेको छ । उनी यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ । अहिले उनी अचेत हुनुको वास्तविक कारण भने खुलिसकेको छैन ।
सोही क्रममा पक्राउ परेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफाल्दा दाहिने खुट्टा भाँचेका छन् । उनको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए ।
प्रहरीले उनीहरूको साथबाट तास र ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । कोइराला र मुखियाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
