काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये ११ जना सम्पर्कमा आएका छन् भने ४ जनाको शव भेटिएको छ । अझै १२ जना सम्पर्कविहीन छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार हिम्लुङ बेस क्याम्पका लागि गएको २७ जनाको टोलीमध्ये ११ जना सकुशल सम्पर्कमा आएका हुन् । हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ ।
सोमबार थप दुई जनाको शव फेला परेपछि मृतकको संख्या चार पुगेको हो । यसअघि छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो भने सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको जनाइएको छ ।
बेपत्ता १२ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको भए पनि हिमालको अवस्था र मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।
